बुटवल- लुम्बिनी सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार कोरोनाका कारण मृत्यु भएका रुपन्देहीका पत्रकार स्वर्गिय हिक्मत चौधरीसहित चार पत्रकार पुरस्कृत गरेको हो। चौधरीको नाममा श्रीमती उदयदेवि कँवरलाई नगद ५० हजार बराबरको ‘सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिएको छ।
यस्तै दाङका पत्रकार शुशिल गौतम ‘अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएका छन्। ६७ वर्षीय गौतमलाई नगद एक लाख पुरस्कार राशीसहित सम्मान गरिएको हो।
यस्तै गरि सिर्जनशिल पत्रकारीता पुरस्कारबाट बाँकेकी महिला पत्रकार अक्षरी पोखरेल र गुल्मीका पत्रकार जनार्दन घिमिरे पुरस्कृत भएका छन्। उनीहरूले जनही ५० नगद राशी प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले पत्रकारहरूलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका छन्। प्रदेश सरकारले विगत २ वर्ष अघिदेखि प्रदेशका पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना अघि सारेको थियो। तर, कार्यान्वयन भने यो वर्षदेखि गर्न थालेको हो।