काठमाडौं– सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) सहकुल थापालाई चोर बाटोबाट अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ। मन्त्रिपरिषद्ले थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआईजी) को दरबन्दी थपेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा एआईजीको दरबन्दी थपिएको हो। एआईजीको दरबन्दी थपेर हतारमा बढुवा गरिनुले सहकुल थापालाई आगामी प्रहरी संगठनको नेतृत्वमा ल्याउन चलखेल भएको नेपाल प्रहरीका उच्च अधिकारी बताउँछन्।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीपछिको प्रहरी नेतृत्वमा सहकुललाई ल्याउन चोर बाटोबाट एआईजीको दरबन्दी थपिएको उच्च स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘डीआईजी सहकुल थापालाई नै भावी प्रहरी महानिरीक्षक बनाउन दरबन्दी थप्ने निर्णय भएको हो। त्यसैअनुसार बढुवा गरियो।’