बुटवल- मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यमसम्बन्धी विधेयकविरुद्ध बुटवलमा धर्नासहित प्रदर्शन गरेको छ। विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै समाजले बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्लाकार्डसहित धर्ना र प्रदर्शन गरेको हो।
समाजका केन्द्रीय सभापति गोविन्द खनालले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक संविधानको प्रस्तावना र मानव अधिकारको विश्वव्यापी घोषणापत्रविपरीत रहेकाले फिर्ता गरी पुनर्लेखन गर्न माग गरे। उनले सरकारको गैरलोकतान्त्रिक चरित्रले नागरिकको शीर निहुरिनुपर्ने अवस्थामा पुगेको बताए। सरकारले बहुमतका नाममा नियन्त्रित लोकतन्त्रको अभ्यास गरेको उनको आरोप छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले सरकार लोकतन्त्र नै मास्न उद्यत रहेको बताए। उनले संविधानविपरीत स्वतन्त्र प्रेसमाथि अंकुश लगाएको भन्दै चरणबद्ध आन्दोलन चर्काेउने बताए। नागरिकस्तरबाट विरोधमा साथ रहनु सकारात्मक रहेको भन्दै सहकार्य गरेरै निश्कर्ष निस्किने उनले बताए।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पहिलो चरणमा विधेयक फिर्ता नगरेसम्म महासंघको आन्दोलन नरोकिने बताए। शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालले सरकार गैरजिम्मेवार बनेको आरोप लगाए।
समाज रुपन्देहीका सचिव कपिल ज्ञवालीले लुम्बिनी प्रदेश सरकार स्थापनादेखि नै प्रेस विराधी देखिएको बताए। विधेयकबिरुद्धल पत्रकार महासंघ लुम्बिनी प्रदेश र १२ वटै जिल्ला शाखाहरुले निरन्तर विरोध गर्दै सरोकारवालाहरुसँगको छलफलपछि पुनर्लेखन गर्नुपर्ने बताउँदै आएका छन्।