काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता सुवास नेम्वाङले नेकपा कार्यदलमा टुंगोमा पुगेका र टुंगोमा पुग्न बाँकी विषय सञ्चारमाध्यममा नभन्ने सल्लाह भएको बताएका छन्। एमाले कार्यदल बैठकबाट बाहिरिने क्रममा ओली पक्षका कार्यदल संयोजकसमेत रहेका नेम्वाङले यस्तो बताएका हुन्।
वरिष्ठ नेता नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षबीच हालसम्म मिलिसकेका र मिल्न बाँकी विषयबारे जानकारी दिन पत्रकारहरूले माग गरेपछि उनले भने, 'साह्रै स्पष्टसँग म तपाईंहरूलाई भन्दिन्छु। यो कुरा तपाईंहरूलाई नभन्ने नै सल्लाह छ। यो निष्कर्षलाई ठीक ठाउँमा पुर्याउनका लागि यसो पनि गर्नुपर्छ कहिलेकाहीँ। 'केही कुरा लुकाउने नै सहमति छ?' भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'अनौपचारिक रूपमा तपाईंहरुकै सल्लाह हो यो।'
कार्यदलबीच छलफल निरन्तर रहेको तर निष्कर्षमा भने नपुगेको उनले बताए। १० दिनयता कार्यदलमा कुनै प्रगति भएको छैन भन्ने कुरा छ नि भन्ने प्रश्नमा नेता नेम्वाङले भने, 'तपाईंहरूलाई निष्कर्ष नसुनाउँदासम्म स्थिति त्यही नै हो। फरक छैन। तीन वर्षअघिदेखिको यो स्थितिलाई ९-१० दिनमा यो ठाउँमा पुर्याएका छौँ। यो धेरै ठूलो प्रगति हो। भोलि यसलाई टुंगोमा पुर्याउछौँ।'