काठमाडौं– ललितपुरको सानेपामा भएको सत्यनारायण तारिक हत्या प्रकरणमा प्रहरीले खाना पकाउने महिला र मृतकबीच सम्बन्धको केही ‘क्लु’ खोजिरहेको बताएको छ। सत्यनारायण तारिककोे शव शनिबार उनकै फ्ल्याटमा पाइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोर घरभित्र पस्दा मुठभेडमा तारिक मारिएको आकलन गरिए पनि कति जना चोर थिए, कहाँका थिए भन्नेबारे कुनै प्रमाण फेला पर्न सकेको छैन।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले घटनाको प्रकृति हेर्दा लुटेराहरुसँगको मुठभेडमा सत्यनारायणको हत्या भएको प्रशास्त आधार रहेको बताएकी छन्। ‘घटनाको प्रकृति र घटनास्थल हेर्दा लुटेरासँगको मुठभेडमा परी तारिकको मृत्यु भएको देखिन्छ। यद्यपि लुटेरा कहाँका थिए, कति जना थिए, कसरी आइपुगे भन्न सकिने अवस्था छैन। खाना पकाउने महिला र मृतकबीच शुक्रबार फोन सम्पर्क भएको देखिन्छ, थप केही छ कि भनेर हेर्दैछौं,’ उनले भनिन्।
सत्यनारायण घरमा एक्लै बस्ने गरेको र घटना भएको शुक्रबार राति पानी परिरहेकाले वरपर बस्नेले पनि थाहा नपाएको प्रहरीकोे अनुमान छ। तारिक बस्ने घरको मुख्य ढोका बन्द रहेकोले चोरी गर्ने समूह झ्यालबाट भित्र पसेको देखिएको छ। तारिक सुत्नेसहित दुवै कोठामा रहेका दराज फोडिएका थिए भने झ्यालको सिसा फोडेर जाली च्यातिएकोे थियो।
चोर त्यही झ्यालबाट भित्र पसेको र बाहिर निस्किएको प्रहरीकोे प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सत्यनारायणको शव खाटमा घोप्टो परेको अवस्थामा प्रहरीले फेला पारेको थियो। घटनास्थलमा प्रहरीले ह्यामरसमेत फेला पारेको थियो।
सत्यनारायणको टाउकोमा ह्यामरले हानेका चार–पाँच घाउ थिए भने कोठामा रगतको धब्बा भेटिएको थियो। प्रहरीले हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकरको प्रयोग गरे पनि रातभर पानी परेका कारण कुकुरले कुनै क्लु भेट्टाउन सकेन। प्रहरीले घटनास्थलमा तारिकको मोबाइल टुक्राटुक्रा गरी फुटाइएको अवस्थामा फेला पारेको थियो।
अनुसन्धानमा ललितपुर प्रहरीका साथै उपत्यका अपराध अनुसन्धान कार्यालयसमेत जुटेकोे छ। कार्यालयका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले घटनाबारे प्राविधिक तरिकाले सुक्ष्म अध्ययन भइरहेको बताए। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले नै यस्तो हो भन्न सकिँदैन, सबै कुरा नखुलाउँदा राम्रो हुन्छ। अनुसन्धानमा प्रहरी लागिपरेकोे छ,’ खापुङले भने।
मृतक सत्यनारायणका भाइ सञ्जय पारिकका अनुसार उनी १० वर्षदेखि त्यही घरमा बसिरहेका थिए। उनी दुई वर्षदेखि न्युरोडमा रहेको एटलान्टिक कम्प्युटर प्रालिमा काम गर्थे।
सत्यनारायाण्ले खाना पकाउनका लागि भन्दै दुई जना महिला राखेका थिए। एसएसपी बज्राचार्यका अनुसार खाना पकाउन आउने दुवैलाई मासिक छ–सात हजार रुपैयाँ दिने गरेका थिए।
हत्या भएको शुक्रबार साँझ काम गर्नेमध्ये एक महिलासँग कुरा भएको प्रहरीले जनाएको छ। भोलिपल्ट शनिबार भएकाले खाना बनाउन नआउने बताएको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।
प्रहरीले अन्य ‘क्लु’ नभेटेकाले काम गर्न राखेका दुवै महिलालाई निगरानीमा राखेको छ। पारिक र ती महिलाबीच शुक्रबार राति भएको कल डिटेल पनि प्रहरीले हेरिरहेको बताएको छ। मृतकको पोष्टमार्टम र फरेन्सिक रिपोर्ट आएको छैन।