कास्की- मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र कास्की रुपा गाउँपालिका-१० हंसपुर घर भएका ४० वर्षीय आइतीमाया गुरुङ छन्।
उनीहरुले पीडितलाई विभिन्न प्रलोभनमा पारी सोही महानगरपालिका-१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै प्रलोभनमा पारेका थिए। यसपछि खाजानास्ता वितरणको काममा लगाएकोसमेत थिए। तर त्यसको केही दिनपछि नै खाजाघर आउने व्यक्तिहरुसँग संचालकले पैसा लिएर पीडितलाई शारीरिक सम्पर्क गर्न बाध्य पारेका थिए।
उनीहरु उपर मानव वेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरअन्तर्गत ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।