बुटवल- संघीय र प्रदेश सरकार दुुवैले बुुटवल र भैरहवालाई समेटेर महानगर बनाउने योजना अघि सारेका छन्। महानगरपालिका बनाउने हो भने बुटवल, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका वडाहरुको संख्या भारी मात्रामा घटाउनुपर्ने हुन्छ। तर, बुुटवल उपमहानगरपालिकाको नवौं नगरसभाले भने बुुटवलको वडा नं. ११ लाई तीन वडामा विभाजन गर्ने प्रस्ताव गरेको छ।
नेकपा एमाले रुपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका नगरप्रमुख शिवराज सुवेदीले नगरसभामा वडा विभाजनको प्रस्ताव गरेर सर्वसमतिले विभाजनको प्रस्ताव सदर गराए। तर, एमालेकै जिल्ला नेता तथा नगर अध्यक्षले भने प्रदेश र संघीय सरकारले महानगर बनाउने योजनाविपरीत वडा विभाजन गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्।
नेताहरुले पार्टीकै जिल्ला अध्यक्षसमेत रहेका नगरप्रमुख सुवेदीले एकलौटी निर्णय गरेको भन्दै विरोध गरेका छन्। निर्णायक मतदाता रहेको वडा नं. ११ लाई तीन वडामा विभाजन गर्ने निर्णयसँगै एमालेभित्र मतभेद पैदा भएको छ।
एमाले बुटवल उपमहानगर कमिटीको बैठकले नै असन्तुष्टि जनाएको छ। नेकपा एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले नगरसभाको प्रस्ताव महानगर बनाउने योजनाको विरोधमा रहेकाले असन्तुष्टि जनाएको बताए। उनले वडा विभाजन गर्ने प्रस्तावअघि राजनीतिक रुपमा छलफल नभएकोमा आपत्ति पनि जनाएका छन्।
‘महानगर बनाउने तयारी भइरहेको बेला वडा विभाजन गर्न आवश्यक छैन,’ नेकपा एमाले रुपन्देहीका सदस्य तथा वडा नं. ११ का बासिन्दा राजेन्द्र ढकालले भने। उनले वडा ठूलो हुँदा सेवा दिन असहज भएको बताउँदै छलफल, अध्ययन बिना अहिले नै वडा विभाजन आवश्यक नभएको बताए। उपमहानगरको वडा विभाजन गर्ने निर्णयले बुटवल महानगर बनाउन नहुने सन्देश जाने नेताहरुको भनाइ छ।
उपहानगरले राजनीतिक रुपमा अर्थ राख्ने र वडा नै विभाजन गर्ने प्रस्तावमा दलहरुसँग छलफल नगरेकोमा अन्य दलहरुले समेत असन्तुुष्टि पोखेका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति खेलराज पाण्डेले वडा विभाजन गर्ने प्रस्ताव ल्याउनुअघि राजनीतिक रुपमा छलफल गर्नुपर्नेमा त्यसो नभएको बताए। ‘उपमहानगरले छलफल गरेर सहमति गरेर प्रस्ताव ल्याउँदा सर्वस्वीकार्य हुनसक्थ्यो,’ नगर सभापति पाण्डेले भने। वडाबाटै छलफल गरेर यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए। पार्टीकै नेताहरुले महानगर बनाउने योजनालाई असर पार्ने निर्णय भएकोमा असन्तुुष्टि जनाइरहेका बेला नगरप्रमुख सुुवेदीले भने यसलाई नियमित काम भएको दाबी गरे।
‘महानगर बन्दा पनि सेवा प्रवाह त गर्नैपर्छ, जनतालाई सेवा सहज रुपमा दिनका लागि विभाजन प्रस्ताव गरिएको हो,’ नगरप्रमुख सुवेदीले भने। उनले जनसंख्या र भूगोलका आधारमा तीन वडामा विभाजन गर्ने प्रस्ताव गरिएको बताए। उपमहानगरले गरेको प्रस्ताव प्रस्थानविन्दु भएकाले अहिले नै विभाजन नहुने भएकाले धैर्य गर्न उनको आग्रह छ। ‘विज्ञहरुको अध्ययन, प्रदेश र संघीय सरकारले निर्णयपछि लागूू हुने हो, त्यसैले अहिल्यै आत्तिनु पर्दैन,’ उनले भने।
बुटवल वडा नं. ११ मा ६० हजार जनसंख्या छ भने २० हजारभन्दा बढी घरधुरी छन्। यसमध्ये सुकुम्बासीमात्रै करिब ७ हजार घरधुरी छन्। उपमहानगरले तिनाउ पारिको क्षेत्रलाई एउटा वडा र वारि दुई वडा रहने गरि विभाजनको प्रस्ताव गरेको छ।