बुटवल– पाल्पामा राजमार्गमाथिबाट खसेको पहिरोले ५ घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पहिरोमा परी ६ जना घाइते भएका छन्। बिहीबार बिहान ४ बजेतिर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गमाथिबाट ढुंगासहित खसेकोे पहिरोले ५ वटा घर पुरेको हो।
तिनाउ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्गको छेउमा रहेका घरहरु पहिरोमा पर्दा ४५ वर्षिय वीरबहादुर गुरुङको मृत्यु भएको छ। ४ वर्षिय आरोप परियार भाग्ने क्रममा बेपत्ता भएका छन्। बिहानदेखि खोजी जारी रहे पनि पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
पहिरोमा परी घाइते भएका तिनाउ गाउँपालिका–५ की सुन्दरी गुरुङको अवस्था गम्भिर छ। गुरुङको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ। यस्तै सोही ठाउँका २६ वर्षिय रमेश परियार, २४ वर्षीय पूजा परियार, ५० वर्षिय बलबहादुर पुन, २० वर्षिय आकाश तामाङ, २२ वर्षिय दिल बहादुर राना र १५ वर्षका दिपेश पुन घाइते छन्।
पहिरोले वीरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरि दर्लामी र बलबहादुर पुनको घरमा क्षति पुुगेको छ। पीडितहरु विद्यालयमा बसेका छन्। सिद्धार्थ राजमार्गका थुप्रै ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको छ।