काठमाडौं- अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई युरो कपको फाइनलमा पुर्याएका छन्।
इंग्ल्यान्डको लागि निकै संघषपूर्ण खेलरात्रिमा ५० हजार समर्थकमाझ एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै इंग्ल्यान्डले डेनमार्कलाई २–१ गोलले हराएको थियो।
यससँगै अब इंग्ल्यान्डले युरोकप फाइनलमा इटालीसँग भेट गर्ने निश्चित भएको छ। ५५ वर्षपछि महत्त्वपूर्ण प्रतियोगिताको फाइनलमा पुगेको इंग्ल्यान्डको ध्यान अब इटालीको टिमतर्फ लागेको छ।
फाइनलमा इंग्ल्यान्डले लन्डनको घरेलु मैदान वेम्बली रंगशालामा घरेलु समर्थकमाझ खेल्नेछ। यदी इंग्ल्यान्डले जित निकालेमा उसले ५५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जित्नेछ।
‘मैले आफ्नो देशको लागि निकै खुसी महशुस गरेको छु,’ इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले भने, ‘म मेरा खेलाडीप्रति निकै गर्वित छु। त्यसमा आफ्ना पनि भूमिका रहेकोमा म निकै खुसी छु।’
यता इंग्ल्यान्डले भिड्न लागेको इटाली २०१८ को विश्वकपमा छनोट नभएको टिम हो। उसले प्लेअफमा स्विडनसँग हार बेहोरेपछि विश्वकप गुमाएको थियो। तर, अज्जुरीको टिमको प्रशिक्षकका रुपमा रोबर्टो मान्सिनीले सम्हालेयता इटालीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ।
उसले लगातार ३३ खेलसम्म अपराजित रहँदै सेमिफाइनलमा जित निकालेको थियो। उसले उद्घाटन खेलमा टर्कीलाई हराएपछि नै युरोकपमा उत्कृष्ट समय विताइरहेको छ।
विश्व नम्बर वान बेल्जियम र तीन पटकको विजेता स्पेनलाई हराउँदै फाइनल पुगेको उसले अब इंग्ल्यान्डसँग डराउनु पर्ने अवस्था भने छैन।
उसँग उपलब्ध भेटरान डिफेन्डर ३६ वर्षे जोजियो चिलेनी र ३४ वर्षे लियोन्द्रो बोउन्सीले पनि यो संस्करणमा सम्झनलायक प्रदर्शन गरिरहेका छन्। त्यसबाहेकका अन्य उत्कृष्ट खेलाडीसँगै आउँदो आइतबार राति इटालीले ठूला प्रतियोगिताको १०औं फाइनल र युरोकपको चौथो फाइनल खेल्नेछ।
यता इंग्ल्यान्डले पहिलो युरोकप फाइनल खेल्दैछ। इटाली र इंग्ल्यान्डका पछिल्ला तीन खेलमा इंग्ल्यान्डले जित निकालेको छैन।
यता २०१४ को विश्वकपको समूह चरणमा इटालीले जित नकालेको थियो भने २०१२ को युरो कपमा पनि अज्जुरीको टिमले जित निकालेको थियो। तर, २०१२ को एक मैत्रीपूर्ण खेलमा भने थ्री लायन्सले इटालीविरुद्ध २-१ गोलको जित निकालेको थियो।