काठमाडौं- राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएपछि क्यारेबियन क्षेत्रको यस गरिब देश हाइटीको हालत बेहाल भएको छ। वास्तवमा हाइटी अहिले अभिभावकविहीन भएको छ।
राष्ट्रपति मारिए, उपराष्ट्रपतिको व्यवस्था नै छैन। भर्खरै नियुक्त भएका प्रधानमन्त्रीले शपथ लिनै बाँकी थियो। अर्थात् प्रधानमन्त्री कामचलाउ हुन्। गत वर्ष नै संसद् विघटन भइसकेको थियो। प्रधानन्यायाधीश कोरोना संक्रमणका कारण हालै मृत्यु भएको थियो।
लामो समयदेखि अस्थिर रहँदै आएको हाइटीको राजनीति राष्ट्रपतिको हत्यासँगै थप अस्थिर बन्ने देखिएको छ। मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको हत्या भएको जानकारी कामचलाउ प्रधानमन्त्रीले दिएका थिए। हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको प्रधानमन्त्री क्लाउडे जोसेपले विज्ञप्तिमार्फत जनाएका छन्। हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिस रहेको विज्ञप्तिमा जनाइएको छ।
आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ। प्रधानमन्त्री जोसेपले मुलुकमा स्थिरता कायम गर्न आवश्यक सबै कदम चालिने बताएका छन्। मोइसे सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए। उनीमाथि भ्रष्टाचारका आरोप लागेको थियो। त्यहाँ सरकारविरोधी हिंसात्मक आन्दोलन पनि मच्चिएको थियो।
यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा राष्ट्रपतिको राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो। गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क रहे पनि मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए।
मोइसेले यस वर्षको सुरुआतमा नै आफ्नो हत्या गरी हाइटीमा कू गर्न लागिएको बताएका थिए। आफ्नो पद बचाउन उनले सर्वोच्च अदालतका न्यायाधीश र वरिष्ठ नेतासहित २३ जनालाई पक्राउको आदेश दिएका थिए।