काठमाडौं- युरोकप २०२० को दुवै सेमिफाइनल खेल पुरा भएसँगै फाइनल खेलमा प्रतिद्वन्दीको टुंगो लागेको छ।
अब जुलाई १२ मा इंग्ल्यान्डका लन्डनस्थित वेम्बली रंगशालामा हुने फाइनल खेलमा घरेलु टिम इंग्ल्यान्डले इटालीको सामना गर्ने भएको छ।
युरोकप इतिहासमा २५ वर्षपछि सेमिफाइनल पुगेको टिम इंग्ल्यान्ड पहिलो पटक फाइनलसम्म पुगेको हो।
सुरुमा एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै इंग्ल्यान्डले डेनमार्कविरुद्ध २–१ गोलको जित निकालेको हो।
खेलको ३०औं मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर, त्यसको नौ मिनेट नबित्तै डेनमार्ककै डिफेन्डर सिमोन कियाले आत्मघाति गोल गरेपछि इंग्ल्यान्डले खेलमा बराबरी गरेको थियो।
यो बराबरीसँगै खेलको निर्धारित ९० मिनेटको खेल नै बराबरी भएको थियो। यसकारण थपिएको अतिरिक्त समयको १०४औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाएका हुन्।
विश्वकप र युरोकपलाई समग्रमा हेर्ने हो भने इंग्ल्यान्ड ५५ वर्षपछि फाइनलमा पुगेको हो। यसअघि इंग्ल्यान्डले १९६६ को विश्वकप जितेको थियो। त्यसयता इग्ल्यान्ड फाइनसम्म पगेको छैन्।
यता एकै संस्करणमा समान तीन खेलमा हार र तीन खेलमा जित निकाल्ने डेनमार्क पाँचौ टिम बनेको छ। उसले लिग चरणमा दुई र नकआउटको एक खेलमा हार बेहोरेको छ भने बीचका तीन खेलमा जित निकालेको थियो।
यसअघि युगोस्लाभिया, अष्ट्रिया, बुल्गेरिया र इंग्ल्यान्डले समान ३, ३ जितहार निकालेका थिए।
यता युरोकपमा फाइनल नपुगि सर्वाधिक ३६ खेल खेलेको इंग्ल्यान्डले ३७औं खेलमा मात्र फाइनल यात्रा तय गरेको छ।
यी दुई टिमबीच यअसघि वेम्बली रंगशालामा भएको सातै खेल १-० गोलको नतिजा मात्र निस्किने गरेको थियो। जुन शृंखला बुधबार रातिको खेलबाट तोडिएको छ।
पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई हराएको थियो।