काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ३ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
विभागले वास्तविक खरिद मूल्यभन्दा कम मूल्य देखाएर राजस्व छली गर्ने ३ जना व्यवसायीविरुद्ध ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मु्द्दा दायर गरेको हो।
विभागले चितवनको रत्ननगरस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रावल र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाईटर रामप्रसाद थपलियाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ।
‘वास्तविक खरिद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको पाइयो’ विभागले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(पहिलो संशोधन २०७६) को दफा ३ ले निषेधित गरेको कार्य गरेको अभियोग विभागले लगाएको छ।
विभागले सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको ठहर गरी राजस्व चुहावट ऐनअनुसार मुद्दा दायर गरिएको उल्लेख गरेको छ।