जर्मन मिडफिल्डर टोनी क्रुसले ३१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबल करिअरमा पूर्णविराम लगाए। जारी युरोकपको अन्तिम १६ बाट जर्मनीको बहिर्गमनसँगै क्रुसले ११ वर्षे अन्तर्राष्ट्रिय फुटबल यात्रामा विराम लगाएको घोषणा गरेका हुन्।
उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएसँगै बाँकी समय व्यावसायिक काममा व्यतीत गर्नेछन्। अब उनको ध्यान स्पेनिस क्लब रियल मड्रिडलाई थप उपाधि जिताउन सहयोग गर्नमा हुनेछ।
‘मेरा लागि सन् २०२३ संन्यास लिने उपयुक्त समय हुने थियो। त्यतिबेला म ३३ वर्षको हुने थिएँ,’ संन्यासपछि उनले भने, ‘त्यतिबेला म एक वा दुई सिजनका लागि रियलमा पनि नयाँ सम्झौता नवीकरण गर्न सक्थेँ। तर विश्वस्त छु, म रियल मड्रिडबाटै संन्यास लिन चाहन्छु।’
उनको रियल मड्रिडसँग २०२३ सम्मको सम्झौता छ। २०१४ मा ६ वर्षको सम्झौता गरी रियल पुगेका उनले सम्झौता नवीकरण गर्दै २०२३ सम्म पुर्याएका थिए। के उनले क्लबलाई थप समय दिनमात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् त?
होइन, उनी आफैलाई थप समय दिन चाहन्छन्। कारण उनलाई आराम पुगेको छैन। ‘मलाई आरामका लागि थप समय चाहिएको छ। मैले यो ११ वर्षसम्म पर्याप्त आराम पाउन सकेको छैन,’ उनले भनेका छन्।
त्यसो त क्रुसको रियल मड्रिडको यात्रा निकै सम्झनलायक छ। सन् २०१४ को विश्वकप जितेपछि नै उनको स्पेनिस राजधानीकोको यात्रा तय भएको थियो। २९ मिलियन डलरमा रियलमा अुनबन्ध भएका क्रुसले सफलताको लामो यात्रा तय गरिसकेका छन्।
खलाडी जीवन उत्तरार्धमा पुग्न लागेको सहसुस गरेका क्रुसको हृदयमा छ– सन्टियागो बर्नाबेउ। उसो त उनले जर्मन क्लब बायर्न म्युनिखमा उत्कृष्ट समय विताएका थिए। तर, जर्मन क्लबका समर्थकप्रति भने उनी त्यति साह्रो सन्तुष्ट छैनन्।
‘मलाई माया र समर्थन गर्ने धेरै समर्थक छन्। तर धेरैले माया गर्न नसकेको पीडा मेरो मनमा गढेर बसेको छ। जुन मैले दशक लामो यात्रामा भोगेको थिएँ,’ क्रुसले जर्मन समर्थक र आलोचकलाई सम्झँदै भनेका छन्।
उनले बायर्नमा जस्तो आलोचना भोगेका थिए, त्यो रियलमामहशुस गरेका छैनन्। रियलमा पहिलो सिजनबाटै उनले सम्मान पाएका छन्। सायद राष्ट्रिय टिमको भन्दा धेरै। त्यसैले त उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले जर्मनका लागि १०६ पटक खेलेँ, अब खेल्ने छैन। मेरो इच्छा थियो म जर्मन टिमलाई सकेजति सबै दिनेछु, यदि भनेजस्तो हुन्थ्यो भने मैले युरोकपका सबै खेल खेल्दा १०९ अन्तर्राष्ट्रिय खेल्न सक्थेँ। साथै खेल जीवनको अन्तिममा ठूलो उपाधि पनि हात लाग्ने थियो।’
विश्वकप जितिसकेका क्रुसका लागि क्लब फुटबलमा जित्नुपर्ने केही बाँकी छैन। उनले जित्न चाहेको युरोकप नै त थियो। तर, उनको यो इच्छा पूरा हुन सकेन। त्यसैले त उनले कतार विश्वकप आउन एक वर्ष बाँकी छँदा नै राष्ट्रिय टोलीबाट विदा लिए। सायद उनलाई अर्को विश्वकप जित्ने अभिलाषा बाँकी छैन। त्यसैले उनले लेखेका छन्, ‘मैले पहिले नै यो प्रतियोगिता सकिएपछि संन्यास लिने योजना बनाएको थिएँ। मैले लामो समयदेखि नै सन् २०२२ को विश्वकप नखेल्ने निर्णय गरिसकेको थिएँ।’
उनले त्यो निर्णय लिनुको पछाडिको कारण हो– परिवार। ‘क्लबको खेलाडीबाहेक म एक पति र बावु पनि हुँ। त्यसैले बाँकी समय म मेरो परिवारका लागि खर्च गर्न चाहन्छु,’ उनी लेख्छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टिमको जर्सी लगाउनु सम्मानको कुरा हो। जुन मैले गर्व र सौखका साथ पूरा गरेँ।’
जसले प्रशंसा, जयजयकारसँगै हौसला दियो उनीहरुलाई उनले धन्यवाद दिएका छन्। त्यस्तै, अतिरिक्त उर्जा दिने आलोचकलाई पनि उनी धन्यवादका पात्र नै सम्झन्छन्।
उनी यस्ता खेलाडी हुन्,जसले राष्ट्रिय टिममा एउटै प्रशिक्षकको अन्डरमा खेले। जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोले नै उनलाई २०१० मा डेब्यू गराएका थिए। अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेल डेब्यू खेल थियो। साउथ अफ्रिकामा भएको फिफा विश्वकप २०१० को लागि २३ खेलाडीमा क्रुस समावेश थिए। उनले समूह चरणको तेस्रो खेलमा घानाविरुद्ध विश्वकपमा डेब्यू गरेका थिए।
उसो त त्यसअघि नै क्रुस फिफा यू–१७ विश्वकप २००७ को गोल्डेन बल विजेता बनेका थिए। साथै उनले ब्रन्ज सुज पनि जिते। उनले आफूलाई प्रमाणित गर्न थप के गर्नु पर्ने थियो र? उनी थिए नै हीरा। अझ भन्ने हो भने उनी टिमका इन्जिन थिए। त्यसैले त २० वर्षको उमेरमा राष्ट्रिय टिम डेब्यू गरेका उनले २०१४ को विश्वकपमा सर्वाधिक एसिस्ट गरेका थिए।
त्यसबीच भएको युरोकप २०१२ को प्रतियोगितापछि प्रशिक्षक लोले क्रुसको खेलबारे भनेका थिए, ‘जसरी टोनीले बल वितरण गर्छन्, जसरी बल लिन्छन्, त्यो एकदमै राम्रो छ। उनी प्राविधिक रुपमा भरिपूर्ण खेलाडी हुन्। म उनको प्रदर्शनबाट निकै सन्तुष्ट छु।’
त्यस्तै, ब्राजिल विश्वकपमा आयोजक राष्ट्र ब्राजिलविरुद्ध विश्वले सम्झने त्यो ७–१ गोलको जित निकाल्दा क्रुसले दुई मिनेटभित्र (२६ र २८मिनेट)दुई गोल गरेका थिए। त्यो खेलको म्यान अफ दि म्याच उनी नै त थिए।
ब्राजिलविरुद्ध सानदार जितपछि ब्राजिलियन समर्थकले उनको नाम ‘गरसन’ राखिदिएका थिए। त्यो पोर्चुगिज शब्दको अर्थ वेटर भन्ने लाग्छ। उनले खेलमा फरवार्डलाई सबैभन्दा धेरै बल उपलब्ध गराएपछि ब्राजिलियन समर्थकले उनलाई वेटर भनेका थिए।
पछि उनी त्यो विश्वकप जित्ने पूर्वी जर्मनीका एकमात्र खेलाडी भए। तर २०१८ को रसिया विश्वकप र क्रुसका लागिमात्र होइन जर्मनीका लागि पनि सम्झनलायक रहेन।
यता जारी युरोकपको अन्तिम १६ बाट बाहिरिएपछि प्रशिक्षक लोले पनि राष्ट्रिय टिम छोडेका छन्। र, लोले नै राष्ट्रिय टोलीमा ल्याएका क्रुसले हान्सी फ्लिकको नेतृत्वमा नखेल्ने निर्णय लिए।
क्लब फुटबलमा क्रुस
उनले सिनियर फुटबल करियर बायर्न म्युनिखबाट सुरु गरे, सन् २००७मा। १७ वर्षको उमेरमा डेब्यू गरेका क्रुस त्यसपछिका १८ महिना लोनमा बायर लेवरकुसन पुगे।
लेवरकुसनमा उनले आफूलाई सावितमात्र गरेनन्, स्थापित नै गराए। उनले २००९–१० सिजनमा लगातार पाँच खेलमा (१६ औं देखि २० औं) पाँच गोल र चार एसिस्ट गरे। जसले उनलाई थप चर्चित बनयो। लेवरकुसनबाट २०१० मा बायर्न फर्किदाँ उनी राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक जोचिम लोको नजरमा परिसकेका थिए।
त्यसपछि त हो उनले बायर्नबाट टे«बल (एकै सिजन घरेलु लिग, कप र च्याम्पियन्स लिग) जितेका। लगातार दुई लिग उपाधि, दुई जर्मन कप र एक सिजन च्याम्पियन्स लिगसहितका उपाधि बायर्नबाट उनले जिते। २०१४ को विश्वकप जितेसँगै उनलाई रियलका तत्कालिन (हालका समेत)कार्लो एन्सोलोटीले फोन गरेका थिए। त्यसपछि उनी रियलमाअनुबन्ध भइहाले।
उनीसँगै अनुबन्ध भएका अर्का खेलाडी थिए–कोलम्बियाका हामेस रोड्रिग्वेज। रियलबाट कु्रससँगै रोड्रिग्वेजले पनि डेब्यू खेलमै सुपर कपको उपाधि जितेका थिए। त िदुई खेलाडीले एकैपटक डेब्यू खेलमा उपाधि जिते।
यससँगै सुरु भएको यात्रामा रियलबाट क्रुसले नौ उपाधि जिते। लगातार तीन च्याम्पियन्स लिग जिते र दुई ला लिगाको उपाधि पनि उनले जितेका छन्।
हरेक प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। त्यही प्रदर्शनले उनलाई लगातार तीन पटक यूईएफए टिम अफ दि इयरमा समावेश पनि गराएको छ। उनी हामेस रोड्रिग्वेज, लुका मोड्रिचसँगै मिडफिल्डका ट्रियो भनेर पनि चिनिन्छन्।
अहिले हामेस त रियलमा छैनन्। तर मोड्रिचसँग उनको साझेदारी कायमै छ। रियलमा क्रुसलाई जसले भित्र्यायो, अहिले पुनः तिनै एन्सोलोटी प्रशिक्षकका रुपमा रियल फर्किएका छन्। त्यसैले राष्ट्रिय टोलीबाट विदा भएका क्रुसका लागि नयाँ सिजन खास हुनेछ।
- द सनको सहयोगमा