काठमाडौं- जारी कोपा अमेरिकाअन्तर्गत आइतबार बिहान सम्पन्न पहिलो खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा पुगेको छ।
ब्राजिलको स्टेडियो नेसनलिया डी ब्राजिलियामा सम्पन्न खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा कोलम्बियाले ४–३ गोलको जित निकालेको हो।
टाइब्रेकरमा कोलिम्बयाका मिगल बोर्जा, येरि मिना, डेभिन्सन सान्चेज र डुभन जपाटाले गोल गरेका थिए। यता उरुग्वेका लागि होसे मारिया जिमिनेजले पेनाल्टी मिस गरे। तर, एडिसन काभानी, लुइस सुआरेज र माटियस भिना गोल गर्न सफल भएका थिए।
खेल अवधिभर ५१ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ ९ प्रहार गरे पनि कोलम्बियाको कुनै प्रयास सफल भएनन्।
यता विपक्षीको पोस्टतर्फ ७ प्रहार गरेको उरुग्वे हारसँगै कोपा अमेरिकाबाट बाहिरिएको छ।
अब कोलम्बियाले सेमिफाइलनमा अर्जेन्टिना र इक्वेडरबीच हुने खेलको विजेतासँग सामना गर्नेछ।