जनकपुरधाम- जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको मैथिली केन्द्रीय विभागले अनलाइन कक्षा सञ्चालनमा ल्याउनका लागि लाखौँको सामान खरिद गरेको थियो।
तर दक्ष जनशक्तिको अभावमा त्यो सामान त्यतिकै थन्किएको छ।
स्थापनाको सुरुवाती वर्षदेखि नै लथालिंङ्ग अवस्थामा रहँदै आएको मैथिली विभागले अनलाइन कक्षा चलाउन ३ लाख ५४ हजारको समान खरिद त गर्यो तर कक्षा भने अझैसम्म सञ्चालनमा ल्याउन सकेको छैन। गत असोज महिनामै खरिद गरिएका ती समाना दक्ष जनशक्ति अभावमा थन्काएर राख्नु परेको लेखापाल संजीव दासले जानकारी दिए।
उनका अनुसार गत असोज महिनामा अनलाइन कक्षा सञ्चालन गर्ने अभिप्रायले त्रिभुवन विश्वविद्यालयले ७ लाख रुपैयाँ उपलब्ध गराएको थियो। जसमध्ये ३ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ। लेखापाल दासले ल्यापटप, मोबाइल, क्यामेरा, क्यामेरा स्टैण्ड, मिनी स्पीकर, वायरलेस हेडफोन, प्रोजेक्टर, इन्भर्टर, ब्याट्रीलगायतका सामाग्री खरिद गरिएको जानकारी दिए।
ल्यापटप खरिदमा ७६ हजार ३२७, रेडमी ९ प्रो म्याक्स मोबाइल खरिदमा ४० हजार ७०७, २ थान क्यामेरा स्टैण्ड खरिदमा ४ हजार ७०, मिनी स्पीकर खरिदमा ७६३, वायरलेस हेडफोेन खरिदमा ६ हजार १०६, क्याननको क्यामेरा ३००० डी खरिदमा ५८ हजार रुपैयाँ खर्च गरिएको उनले जानकारी दिए।
शिक्षकहरुलाई अनलाइन कक्षा सञ्चालनका लागि तालिम दिने योजनासमेत थियो तर त्यो हुन नसकेको उनले बताए। शिक्षकहरुमा प्राविधिक ज्ञानको अभाव रहेकाले कक्षा सञ्चालन गर्न नसकिएको लेखापाल दासको भनाइ छ।
मैथिली विभागको अवस्था दयनीय
३० जना विद्यार्थी मात्रै अध्ययनरत मैथिली विभागको अवस्था भने दिनदिनै दयनीय बन्दै गएको छ।
रामसागर रामस्वरुप बहुमुखी क्याम्पसको हाताभित्रै रहेको मैथिली विभागमा कार्यरत कर्मचारी तथा प्राध्यापकहरुले समय नदिँदा अवस्था दयनीय बन्दै गएको हो। कोरोना महामारीका कारण अहिले कक्षाहरु बन्द छन् तर यसअघि पनि कर्मचारी तथा शिक्षकहरु कहिलेकाँही मात्रै पुग्ने गर्थे।
अधिकांश शिक्षक घरमै बसेर तलव खाने गरेकाले कक्षासम्म सञ्चालन हुँदैनथ्यो।
दुईवटा कोठाबाट मैथिलीको केन्द्रीय विभाग सञ्चालन हुँदै आएको छ। केन्द्रीय विभागमा अहिले २ जना कर्मचारी तथा ५ जना शिक्षक कार्यरत छन्।
विभागका कर्मचारी तथा शिक्षकका लागि प्रतिमहिना २० लाख रुपैयाँ खर्च हुँदै आएको छ।
मैथिली विभागका प्राध्यापक रुपेश सिंह भने यसअघि सामान्य अवस्थामा पनि विद्यार्थी नै नआउने गरेकाले विभागमा जाने र नपढाएरै फर्किनु परेको बताउँछन्।
यता मैथिली विभागको प्रमुख रहेकी श्यामा महतोससँग मैथिली विभागको दयनीय अवस्थाको विषयमा जानकारी लिन खोज्दा केही बोल्न चाहिनन्। उनले भनिन् ‘मेरो कार्यकाल समाप्त भएको ४ दिन भइसकेको छ त्यसैले म यहाँको वस्तुस्थितिको विषयमा कुरो गर्न सक्दिन।’