काठमाडौं- ‘माइ सेकेन्ड टिचर’ ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आर्थिक सहयोग प्रदान गरेको छ।
गत वैशाखमा सम्पन्न त्रि–देशीय क्रिकेट प्रतियोगितामा उपाधि जितेको क्रिकेट टोलीलाई बिहीबार माइ सेकेन्ड टिचरले नगद रु. ५ लाख सहयोग गरेको हो। साथै उसले सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही रु. १ लाख प्रदान गरेको छ ।
सिरिजमा मलेसिया, नेदरल्याण्डस र नेपाल सहभागी थिए। उक्त सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पूरै विकेट गुमाएर ९६ रनमा समेटिएको थियो।