काठमाडौं– यस वर्षको जुलाई एक तारिख विश्व फुटबलप्रेमी र फुटबलमा रुची हुनेहरुका लागि विशेष दिन बन्यो। कारण– विश्वका केही स्टार फुटबलर क्लबविहीन भए र ती खेलाडी नयाँ सम्झौताको पर्खाइमा छन्।
उत्कृष्ट र अनुभवी खेलाडीका साथै राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेका कतिपय खेलाडी पनि अहिले क्लबविहीन बनेका छन्। कतिपय खेलाडी नयाँ क्लबको खोजीमा रहँदा कोही भने आफ्नो पुरानै क्लबले सम्झौता गरोस् भन्ने पक्षमा पनि छन्।
झन्डै दुई दशकदेखि स्पेनी क्लब बार्सिलोनामा आवद्ध रहेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको सम्झौता यही जुन ३० सकिएको छ। अर्थात् आजदेखि उनी क्लबविहीन बनेका छन्।
यता रियल मड्रिडका सेन्टर ब्याक सर्जियो रामोसको पनि सम्झौता सकिएको छ। सम्झौता सकिएपछि खेलाडी जुनसुकै क्लबमा अनुबन्ध हुन पाउँछन्। र, खेलाडी अनुबन्ध गर्ने क्लबले पनि पहिलेको क्लबलाई रकम तिर्नु पर्दैन।
यस्ता छन् विभिन्न क्लबमा सम्झौता सकिएका चर्चित खेलाडी
गोलकिपर जियन्लुगी डोनारुमा
एसी मिलान र इटाली राष्ट्रिय टिमका गोलकिपर जियन्लुगी डोनारुमाको क्लबसँगको सम्झौता सकिएको छ। २०१५ बाट सिनियर टिममा खेल्न थालेका डोनारुमको जुन ३० पछि नै सम्झौता सकिएको हो।
उनीहरुबीच सम्झौता नवीकरण गर्ने सम्बन्धका केही वार्ता भए पनि त्यो वार्ता सफल हुन सकेन। २२ वर्षे गोलकिपरले १६ वर्षमा नै सिनियर टिमबाट लिगमा डेब्यू गरेका थिए।
त्यसपछि उनले धेरै समर्थकको ध्यान आफूतर्फ खिचे। अहिले उनी फ्रि ट्रान्सफरमा गएपछि उनलाई पीएसजीले अनुबन्धन गर्ने चासो देखाएको छ। पीएसजीले मेडिकल टेस्ट गरेको पनि बताइएको छ। उनी खेलिरहेको इटालियन टिम अहिले युरोकपको क्वार्टरफाइनल पुगेको छ।
राइट ब्याक इल्सिड हाइसज
यो सिजन इटालीको सिरी ए क्लब नापोलीबाट केही खेलाडी बाहिरिएका छन्। त्यसमध्ये एक इल्सिड हाइसज पनि हुन्। निकै उत्कृष्ट राइट ब्याक हाइसजको सम्झौता सकिएको छ तर नवीकरणको कुरा अघि बढेको छैन। अहिले अर्को इटालियन क्लब लाजियोले उनलाई पछ्याइरहेको छ। उनले पाँच वर्षको सम्झौतामा हाइसजलाई भित्र्याउन खोजिरहेको बताइएको छ।
सेन्टर ब्याक सर्जियो रामोस
रियल मड्रिडसँग सम्झौता सकिएपछि कप्तान सर्जियो रामोस पनि अहिले क्लबविहीन छन्। उनले सामाजिक सञ्जालमा पनि आफू रियलसँग सम्बन्धित रहेको सूचना हटाएका छन्।
उनको विदाइअघि उनले क्लब छोड्नेबारे नसोचिएको भए पनि अन्तिम घडीमा रियलले उनलाई विदा गरेको थियो। उनले राखेको माग क्लबले पूरा गने नसक्ने रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका थिए।
उनी अहिले नयाँ क्लबमा अनुबन्ध हुने प्रकृयामा छन्। उनलाई फ्रेन्च क्लब पीएसजीले अनुबन्ध गर्न चाहेको छ। यदि उनले चाहेमा उनी दुई वर्षे सम्झौतामा पीएसजीमा अनुबन्ध हुनेछन्। साथै म्यानचेस्टर सिटी र बायर्न पनि उनलाई सम्झौता गर्न चाहिरहेका छन्।
सेन्टर ब्याक जेरोमी बायटेङ
१० सिजन बायर्नमा बिताएका जेरोमी बायटेङले सबै (९) सिजन लिगको उपाधि जितेका थिए। त्यसबाहेक उनले जर्मन कप र दुई पटक च्याम्पियन्स लिग पनि जिते।
अहिले बायर्नमा नयाँ पुस्ता आएसँगै बायटेङ र डेविड अल्वा बाहिरिएका छन्। उनले अब आफू कता जाने भन्ने स्पष्ट रहेको भन्दै क्लब छोडेका थिए। अहिले उनलाई अनुबन्ध गर्न टोटनहम, मोनाको र रोमा इच्छुक देखिएका छन्।
अट्याकिङ मिडफिल्डर जुवन माटा
म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि जुवन माटा पनि अहिले क्लबविहीन छन्। उनी क्लबमा बस्न चाहे पनि क्लबले उनीसँग सम्झौता गर्न नचाहेको हो। उनीसँग युनाइटेडले अझै एक वर्ष सम्झौता गर्न सक्नेगरी पहिले सम्झौता भएको थियो। यद्यपि अहिलेसम्म भएको छैन।
यता जुनको सुरुमा क्लब र युनाइटेडबीच कुरा भइरहेको जनाकारी आए पनि त्यसबारे पछिल्लो समय के भएको छ भन्ने जानकारी आएको छैन। यसकारण उनको पनि क्लबसँगको सम्झौता सकिएको छ।
राइट विंगर लियोनेल मेस्सी
बुधबार रातिबाट कप्तान लियोनेल मेस्सी र बार्सिलोनाबीचको पनि सम्झौता सकिएको छ। गएको वर्ष नै बार्सिलोना छोडेर म्यानचेस्टर सिटी जान चाहेका मेस्सीलाई क्याटलान क्लबले जान दिएको थिएन। तर, यो वर्षको जुन मध्यरातमा सम्झौता सकिएसँगै उनी बार्सिलोनाबाट बाहिरिएर अन्य जुनसुकै क्लबमा जान पनि स्वतन्त्र भएका हुन्।
अहिले विश्वकै सबैभन्दा चर्चित खेलाडी मेस्सी क्लबविहीन बनेका छन्। अहिले उनी बार्सिलोनामै बस्नसक्ने विषयमा पनि कुराकानी भइरहेको छ। उनी क्याम्प नाउमै बस्नसक्ने विश्वास पनि गरिएको छ।
मेस्सीलाई आफ्नो टिममा लग्न चाहने क्लबका लागि यो खुसीको कुरा हो। किनकि उनी कुनै अतिरिक्त मूल्य बिनै जुनसुकै क्लबका लागि उपलब्ध छन्। अहिलेसम्म उनी अन्य क्लबसँग जोडिएको पाइएको छैन। किनभने उनी अहिलेसम्म पनि बार्सिलोनाले के अफर गर्नसक्छ भन्ने पर्खिएर बसिरहेका छन्।
यसअघि उनी म्यानचेस्टर सिटी वा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग जोडिएका थिए। त्यसमा पनि बार्सिलोनाका स्पेनिस प्रशिक्षक पेप ग्वार्डिवला भएको सिटी जान चाहन्थे।
स्ट्राइकर जोसुवा किङ
एभर्टनका स्ट्राइकर जोसुवा किङको भविष्य अहिले अन्योलमा छ। उनले केही समयअघि बर्नमाउथबाट एभर्टनमा अनुबन्ध हुने सन्दर्भमा प्रशिक्षक कार्लो एन्सोलोटीले ढाँटेको आरोप लगाएका थिए।
उनी छोटो समयको सम्झौतासँगै गएको फेब्रुअरीमा मात्र क्लबमा अनुबन्ध भएका थिए। उनले गुडिसन पार्कमा वैकल्पिक खेलाडीका रुपमा मात्र मैदानमा अवसर पाएका छन्।
अहिले दुवईमा विदा मनाइरहेका स्ट्राइकलाई एस्टन भिल्ला, वेस्ट हाम र नर्विच सिटीले अनुबन्ध गर्न चाहिरहेका छन्।
यसबाहेक साउथह्याम्टनका लेफ्ट ब्याक रियल बेट्रेन्ड, सेफिल्ड युनाइटेडका जोहन लुन्गस्ट्रम, बर्नमाउथका ज्याक विल्सेर पनि क्लविहीन छन्। त्यस्तै, फियारेन्टिनाका लेफ्ट विंगर फ्रान्क रिबरीको पनि सम्झौता सकिएको छ।
अहिले बेट्रेन्डलाई लेस्टर सिटी अनुबन्ध गर्न चाहन्छ भने मोनाको र एसी मिलानले पनि उनीबारे सोचिरहेको छ। लुन्गस्ट्रमलाई अहिले रेन्जर्सले अनुबन्ध गर्न चाहिरहेको छ।
पूर्व आर्सनल खेलाडी २९ वर्षे विल्सेरको भविष्य अहिलेसम्म स्पष्ट छैन। यता ३८ वर्षे रिबरीचाहिँ क्लबमै बस्न चाहन्छन् तर उनीसँग क्लबले सम्झौता नवीकरण गरेको छैन।
–डेलीमेलबाट