काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रिडिप्लोमा तहको स्वास्थ्य सम्बन्धी कार्यक्रमको स्तरोन्नति लागि कार्यक्रम सञ्चालन गरेका विद्यालयसँग आवेदन माग गरेको छ।
चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम स्तरोन्नतिका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा तयार पारिएको स्तरोन्नतिसम्बन्धी मापदण्ड २०७७ बमोजिम स्तरोन्नति गरिने परिषद्ले सूचनामार्फत जनाएको हो। परिषद् कार्यालयबाट स्वीकृत प्राप्त प्रमाणपत्र तहभन्दा मुनिका प्रिडिप्लोमा तहका स्वास्थ्य सम्बन्धी कार्यक्रम स्तरोन्नतिका लागि वैशाख ३ गते र जेठ ४ गते सूचना प्रकशित गरिएको थियो।
तर कोभिड १९ महामारीका कारण रोकिएको थियो। सीटीईभीटीले फेरि सूचना निकालेर वैशाख ३ गतेको सूचनामा तोकिएको सर्त र कागजातसहित १५ दिनभित्र निवेदन पेस गर्न सबै प्राविधिक कक्षा सञ्चालन गरेका विद्यालयलाई सूचित गरेको छ। निवेदन अनलाइनबाट पेस गर्न सकिने र समय सीमाभित्र आवेदन नपर्ने विद्यालयलाई स्तरोन्नति प्रक्रियामा सहभागी नगराउने भएको छ।
