काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा रही काम गर्नेहरूको सम्मानमा कोरिएको चित्र मेटेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २८ को अनुमतिमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएको चित्रकला काठमाडौं महानगरले मेटेको हो।
चित्रमा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरू समावेश गरिएको थियो। गत जेठ २५ देखि २७ गतेसम्म गरी ६ दिनमा ४ कलाकार र ३ जना स्वयंसेवकले सो चित्र बनाएका थिए। कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ तथा स्वयंसेवकहरू कुञ्जाङ शेर्पा, अभिषेक पौडेल र मात्रिका तिमिल्सिनाले उक्त चित्र बनाएका थिए।
महानगरको नीति विपरीत काम भएकाले उक्त चित्र मेटिएको महानगरको दाबी छ। महानगरका प्रवक्ता ईश्वरमान डंगोल महानागरको नीति विपरीत कार्य गरेकाले उक्त चित्र हटाइएको बताए।
‘काठमाडौं महानगरपालिकाभित्र वालपेन्ट गर्न नपाउने हाम्रो नीति छ। त्यसमा वडाले किन र कसरी स्वीकृति दियो थाहा भएन,' उनले भने, 'महानगरको नीतिविरुद्ध कोही पनि जाने कुरा हुँदैन। महानगरको नीतिविपरीत काम भएपछि हेरर बस्ने कुरा भएन।’
महानगरको नीति विपरीत काम भएकाले उक्त चित्र मेटिएको महानगरको दाबी छ। महानगरका प्रवक्ता ईश्वरमान डंगोल महानागरको नीति विपरीत कार्य गरेकाले उक्त चित्र हटाइएको बताए।
कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुको सम्मानमा बनाइएको चित्रकला मेटाइएको भन्दै समाजिक सञ्जालमा विरोध भएको छ। चित्रकलाका परिकल्पनाकार डोजाङ शेर्पाले महानगरले चित्रकला मेटाएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका छन्। चित्रकला बनाउनुअघि नै आफूहरूले सम्बन्धित स्थानको वडा २८ सँग अनुमति लिइएको तर अहिले आएर महानगरले मेटाएको गुनासो गरे।
‘विश्व महामारी कोरोनाविरुद्ध दिन रात नभनी आफ्नो र आफ्नो परिवारको ज्यानको बाजि राखी हाम्रो सेवाको निम्ति खट्नुभएका फ्रन्टलाइनरको सम्मानको निम्ति कोरिएको यो चित्रमा कुदृष्टि। म हिजोदेखि दाँतको समस्याले घरमा आराम गरिरहेको थिएँ। अचानक खबर सुनेँ महानगर प्रहरी आएर चित्र मेट्यो भनेर,' परिकल्पनाकार शेर्पाले सामाजिक सञ्जालमा भनेका छन्, 'यो कार्यको निम्ति हामीले महानगर वडा २८ बाट अनुमति लिएका थियौँ। यो काम सक्न हामीलाई ६ दिन लागेको थियो। काम गर्दै गर्दा महानगरका हाकिम साबहरू आउँदा हामीले पत्र देखाएको थियौं, उहाँहरुले हेरेर हुन्छ भनेर जानुभयो। तर आज अचानक चित्र मेटाउँदा सारै चित्त दुखेको छ। राम्रो काम गर्नु पाप रहेछ। कुनै पूर्व जानकारी बिना यो हर्कत कदापि स्विकारिँदैन।’