काठमाडौं- खेलको अतिरिक्त समयमा स्विडेनलाई हराउँदै युक्रेन पहिलो पटक युरोकपको क्वार्टरफाइनलमा पुगेको छ। डेनमार्कको हाम्डेन पार्कमा स्विडेनलाई २–१ गोलले हराउँदै युक्रेन अन्तिम ८ मा प्रवेश गरेको हो।
स्विडेनले चाहिँ यसअघि खेलेका सबै नकआउट खेलमा हार बेहोरेको छ। उसले अहिलेसम्म युरोकपका तीन पटक नकआउट खेलेकोमा तीन पटक नै हार बेहोरेको छ। पहिलो र दोस्रो पटक जर्मनी तथा नेदरल्यान्डसँग हारेको स्विडेन अहिले युक्रेनसँग पराजित भएको हो।
यता युरोकपको मंगलबार राति सम्पन्न खेलमा स्विडेनलाई हराउनका लागि युक्रेनले अतिरिक्त समय लिएको थियो। खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयतर्फ गयो।
९९औं मिनेटमा स्विडेनका मार्कस ड्यानिइल्सन रातो काडै खाँदै बाहिरिएपछि स्विडेन १० खेलाडीमा समेटियो। १० खेलाडीमा समेटिएको स्विडेविरुद्ध अतिरिक्त समयको चोटिल समयमा युक्रेनका आर्टेम डोब्यकले गोल गर्दै आफ्नो टिमलाई जित निदलाएका थिए।
त्यसअघि खेलको २७औं मिनेटमा युक्रेनका ओलेक्सन्दर जिन्चेन्को र ४३औं मिनेटमा स्विडेनका इमिल फर्सबर्गले गोल गरेका थिए। अतिरिक्त समयमा २–१ गोलको जित निकालेको युक्रेनले अब रोममा हुने क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डको सामना गर्नेछ।
ठूला प्रतियोगितामध्ये, युक्रेन यसअघि २००६ को विश्व कपमा पहिलो पटक क्वार्टरफाइनल पुगेको थियो। युरोकपमा भने यो पहिलो क्वार्टरफाइनल यात्रा हो।