काठमाडौं– सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्ड ठूलो प्रतियोगिताको नकआउटमा पहिलोपटक जर्मनीविरुद्ध जित निकाल्ने लक्ष्यमा छ। अर्थात् विश्वकप र युरोकपजस्तो ठूलो प्रतियोगितामा १९६६ यता इंग्ल्यान्डले जर्मनीलाई हराएको छैन।
जारी युरोकपमा तिनै दुई टिम आज इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्।
नेपाली समयअनुसार आज राति पौने १० बजे सुरु हुने खेलमा ४० हजार समर्थकमाझ पुराना प्रतिद्वन्दीले खेल्नेछन्। यो खेलको विजेताले स्विडेन र युक्रेनको विजेतासँग इटालीको रोममा प्रतिस्पर्धा गर्नेछ।
‘यो वास्तवमै एक अश्विसनीय रेकर्ड हो,’ इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले भनेका छन्। इंग्ल्यान्डले १९९६ मा स्पेनसँग पेनाल्टी सुटआउटमा जित निकालेको थियो भने पेनाल्टी सुटआउटमै जर्मनीसँग हार बेहोरेको थियो। त्यो पनि घरेलु मैदानमै।
‘तर अहिलेको इंग्ल्यान्ड टिमले पहिलेको त्यो भारी बोकेर खेल्दैन,’ प्रशिक्षक साउथगेटले खेलअघि भने, ‘किनभने जब ती खेलहरु भए, अहिलेका धेरै खेलाडी त जन्मिएकै थिएनन्। त्यसैले अहिले त्यो समयको तुलना गर्नु सान्दर्भिक हुँदैन।’
त्यसैले अहिले इंग्ल्यान्डका लागि क्वार्टरफाइनलमा प्रवेश गर्ने ढोकाको अवसरका रुपमा हेर्नुपर्ने प्रशिक्षकको तर्क छ। आज इंग्ल्यान्डले जर्मनीसँग वेम्बली रंगशालमा १३ औं खेल खेल्दैछ। यसअघि यी दुई टिमले खेलेका पाँच खेलमध्ये चार खेल इग्ल्यान्डले जितेको थियो। तर यही रंगशालाका पछिल्ला सात खेलमा इंग्ल्यान्डले जर्मनीलाई हराउन सकेको छैन।
जर्मनीले पाँच खेलमा जितेको छ भने दुई बराबरी भएका छन्। त्यसैले पनि जर्मनीका प्रशिक्षक जोआचिम लो इंग्ल्यान्डविरुद्धको आफ्नो अन्तिम खेलमा पनि जित निकाल्न चाहन्छन्। जर्मनीले यो प्रतियोगितापछि लोलाई हटाएर हान्सी फ्लिकलाई प्रशिक्षक बनाउँदै छ।
जर्मनी र इंग्ल्यान्डबीच ठूला प्रतियोगिताको नकआउट नतिजा
१९६६ विश्वकप फाइनलः इंग्ल्यान्ड ४–२ जर्मनी
१९७० विश्वकप क्वार्टरफाइनलः जर्मनी ३–२ इंग्ल्यान्ड
१९९० विश्वकप सेमिफाइनलः जर्मनी ४–३ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
१९९६ युरोकप सेमिफाइनलः जर्मनी ६–५ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
२०१० विश्वकप अन्तिम १६ः जर्मनी ४–१ इंग्ल्यान्ड
सेल्फ आइसोलेसनमा रहेका इंग्ल्यान्डको टिमका दुई खेलाडी पनि मैदान फर्किएका छन्। मिडफिल्डर मेसन माउन्ट र फुलब्याक बिन चिलवेल मैदानमा देखिने भएका छन्।
‘तर उनीहरुले टिमसँगै अभ्यास गर्न पाएका छनन्। आफैं अभ्यास गरिरहेका छन्,’ इंग्ल्यान्डका प्रशिक्षक साउथगेटी भन्छन्, ‘उनीहरु युवा खेलाडी हुन्। उनीहरुले राम्रो खेल्ने आशा छ।’
यता चोट लागेका जर्मनीका डिफेन्डर एन्टोनीयो रुडिगर र मिडफिल्डर इल्के गुन्डोगन खेलमा फर्कने सम्भावना छ। त्यस्तै, जर्मनीले मुलरको ठाउँमा लेरोय सानेलाई मैदानमा खटाउन सक्नेछ।
ती खेलाडीको साथमा जर्मनीविरुद्ध इंग्ल्यान्डले जित निकाल्न धेरै चुनौती हुनेछ। जर्मनीले समूह चरणमा बलियो प्रतिस्पिर्धी पाए पनि समूहको दोस्रो स्थानमा रहँदै नकआउट प्रवेश गरेको थियो।
यता, तुलनात्मक रुपमा सहज प्रतिद्वन्दी पाएको इंग्ल्यान्ड समूह डी को शीर्षस्थानमा रहँदै नकआउट प्रवेश गरेको थियो। तर इंग्ल्यान्डको तर्फबाट समूह चरणमा रहिम स्टार्लिङले मात्र गोल गरेका छन्। जहाँ समूहमा इंग्ल्यान्डले दुई गोल गरेर तीन क्लिन सिट रोखेको थियो।
यता जर्मनीले ६ गोल गरेर पाँच गोलको सामना गरेको थियो। समूह चरणमा जर्मनीको खेलमा तीन गोल आत्मघाती भएका छन्।