काठमाडौं- युरोपका विभिन्न ११ सहरमा सञ्चालन भइरहेको युरोकप २०२० अन्तर्गत आज प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
आजका दुई खेल इंग्ल्यान्डको लन्डन सहरस्थित वेम्बली रंगशालामा र डेनमार्कको कोपनहेगनस्थित हाम्पडेन पार्क रंगशालामा हुनेछन्।
लन्डनको वेम्बली रंगशालमा राति ९:४५ बजे सुरु हुने खेलमा घरेलु टिम इंग्ल्यान्डले जर्मनीलाई आतिथ्यता प्रदान गर्नेछ।
युरोपेली च्याम्पियनसिपमा इंग्ल्यान्ड र जर्मनीको यो तेस्रो भेटसमेत हो। पहिलो दुई भेटमा दुवै टिमले एक–एक पटक जित निकालेका छन्।
यता कोपनगेगनको हाम्पडेन पार्क रंगशालामा राति पौने एक बजे सुरु हुने खेलमा भने स्विडेनले युक्रेनको सामना गर्नेछ। यी दुई टिमको यो पाँचौ भेट हो। यसअघिका चार खेलमा स्विडेनले एक जित निकालेको छ भने एक खेल बराबरी भएको छ।
यी दुई टिमबीचको विगतका खेलमा युक्रेनले स्विडेनविरुद्ध दुई जित निकालेको छ। युक्रेन र स्विडेनबीच पछिल्लो पटक २०१२ को युरो कप समूह चरणमा भेट गरेका थिए। जहाँ युक्रेनले २–१ गोलको पुनरागमन जित निकालेको थियो।
२००४ यता पहिलो पटक युरोको नकआउट पुगेको स्विडेन समग्रमा यो संस्करणमा तेस्रो पटक नकआउट पुगेको हो। जहाँ युक्रनेको ठूला प्रतियोगिताको दोस्रो पटक नकआउटमा पुगेको हो।
युरोमा पहिलो पटक नकआउटमा पुगेको युक्रेन २००६ को विश्वकपमा पनि अन्तिम १६ सम्म पुगेको थियो।