काठमाडौं- कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र अर्जेन्टिनाले जित निकालेसँगै समूह चरणका सम्पूर्ण खेल सकिएका छन्।
समूह ‘ए’ अन्तर्गत मंगलबार बिहानका पौने ५ बजे सुरु भएका दुई खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले हराएको थियो भने बोलिभियाविरुद्ध अर्जेन्टिनाले ४–१ गोलको जित हासिल गरेको थियो।
दुई समूह रहेको कोपा अमेरिकाको समूह ‘ए’ र ‘बी’ को शीर्षस्थानमा क्रमशः अर्जेन्टिना र ब्राजिल छन्। दुवैले समान १०–१० अंक बनाएका छन्।
यस्तो छ स्थान र अंक :
समूह ‘ए’
समूह ‘ए’ मा अर्जेन्टिनासहित उरुग्वे, पाराग्वे, चिली र बोलिभिया थिए, जहाँ बोलिभिया अंकविहीन हुँदै समूह चरणबाटै घर फर्किएको छ।
यता अर्जेन्टिना भने समूहमा तीन जित र एक बराबरीसँगै १० अंक जोडेर शीर्षस्थानमा कायम रहन सफल भएको छ। दुई जित, एक बराबरी र एक हार बेहोरेको उरुग्वे समूहको दोस्रो स्थानमा रह्यो भने पाराग्वे ६ अंकका साथ तेस्रो स्थानमा कायम रह्यो।
पाराग्वेले समूहमा दुई जित निकाल्यो भने दुई खेलमा हार बेहोर्यो। त्यस्तै, पाँच अंक बनाएर चौथो स्थानमा समेटिएको चिलीले एक जित र दुई बराबरीसँगै पाँच अंक जोडेको छ।
समूह ए बाट बोलिभियाबाहेक सबै टिम क्वार्टरफाइनल पुगेका छन्।
समूह ‘बी’
समूह ‘बी’ मा ब्राजिल हावी रह्यो। उसले ३ खेलमा जित निकालेको थियो भने १ बराबरी खेलेर १० अंक बनाउँदै समूह चरणमा अपराजित रह्यो। त्यस्तै, दोस्रो स्थानमा कायम पेरुले ७ अंक बनाएको छ। उसले दुई जित निकालेको थियो भने एक हार सँगै एक बराबरी खेलेको थियो।
त्यस्तै, चार अंक भएको कोलिम्बया तेस्रो स्थानमा छ भने तीन अंक बनाएको इक्वेडर चौथो स्थानमा छ। कोलम्बियाले एक खेलमा जित निकाल्दै दुई हार बेहोरेको थियो भने एक बराबरी खेलेको थियो।
त्यस्तै, इक्वेडरले कुनै खेलमा जित निकाल्न सकेन। उनले तीन बराबरी खेल्यो भने एक खेलमा हार बेहोर्यो। यता दुई अंकका साथ समूहको पुछारमा रहेको भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ।