काठमाडौं– क्रोएसियालाई हराउँदै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। कोपनहेगनस्थित पार्केन रंगशालामा भर्खरै सम्पन्न खेलमा स्पेनले ५–३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो। निर्धारित ९० मिनेटसम्म ३–३ गोलको बराबरी भएपछि अतिरिक्त समयमा भएको खेलमा स्पेनले जित निकालेको थियो।
तीन पटकको उपाधि विजेता स्पेनलाई जित दिलाउन अल्भेरो मोराटाले १०० औं मिनेटमा र मिकेल ओयरजबालले १०३ औं मिनेटमा गोल गरेका थिए। त्यसअघि स्पेनका मिडफिल्डर पेड्रीको आत्मघाती गोलबाट अग्रता बनाएको क्रोएसियाले खेलको इन्ज्युरी समयमा मानियरा पसालिचको गोलबाट बराबरी गरेको थियो।
आजको खेलमा जारी युरो कपकै सबैभन्दा धेरै गोल लागेको छ। यो स्कोर युरो कप इतिहासकै दोस्रो धेरै स्कोरसमेत हो। युरोको पहिलो संस्करणमा इंग्ल्यान्ड र युगोस्लाभियाको खेलमा नौ गोल भएको थियो। खेलमा दुवै टिमको तर्फबाट ८ गोल भएको हो। आजको जितसँगै स्पेन युरो कपको क्वार्टरफाइनलमा पुगेको छ भने क्रोएसिया युरो कपबाट बाहिरिएको छ। अब स्पेनले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डबीच खेलको विजेतासँग खेल्नेछ।

पहिलो हाफ १–१ को बराबरीमा रहेको थियो। स्पेनले दोस्रो हाफमा २ गोल गर्दै सहज जिततर्फ उन्मुख देखिए पनि क्रोएसियाले अन्त्यतिर दुई गोल गरको हो। स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो। खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्यासित रुपमा अग्रता लियो। स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोलमा परिणत भएको थियो। बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडि झर्दा पोस्टमा छिरेको थियो। तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भएको थियो।