स्टकहोम- स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन्। गत सोमबार संसदमा अविश्वासको प्रस्तावमाlथ मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
अपार्टमेन्ट भाडाका विषयमा विवाद भएपछि कम्युनिस्ट पार्टीले लोफभेन सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यसपछि प्रधानमन्त्री लोफभेनले संसद्मा विश्वासको मत मागेका थिए। तर उनले आवश्यक मत जुटाउन नसकेपछि राजिनामा दिनुपरेको हो।
अघिल्लो सोमबार संसदमा भएको मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्ष (प्रधानमन्त्रीको पक्ष)मा भने १७५ जनाको मत परेको थियो। स्वीडेनको संसदमा अहिले ३४९ जना सांसद छन्। तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए।
स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ। संसद विघटन भएको भए निर्धारित समयभन्दा एक वर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो।
विपक्षीहरुले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन्। वामपन्थी कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो।
नियमित निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिनुपरेको हो। यसलाई स्वीडेनमा विषेश अवस्था मानिएको छ। कोरोना भाइरसको महामारी चलिरहेका बेला मुलुक निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ।
'महामारीको बेलामा निर्वाचनमा जानु गम्भीर चुनौतीपूर्ण अवस्था हो, यो स्वीडेनका लागि राम्रो होइन,' प्रधानमन्त्री लोफभेनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने।
प्रधानमन्त्रीले राजीनामा दिएसँगै सभामुखले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अगाडि बढाउने भएका छन्। संसदमा बहुमत सिद्ध गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने कानुनी व्यवस्था अनुसार नेताहरूले गृहकार्य थालिसकेको जनाइएको छ। नयाँ सरकार नबन्दासम्म भने अहिलेकै सरकारले कामचलाउ सरकारका रूपमा पनि काम गरिरहने छ। -सिन्ह्वा