काठमाडौं- प्रतिपक्षी राजनीतिक दलसम्बद्ध ५ विद्यार्थी संगठनले लकडाउन अवधिको शैक्षिक शुल्क नलिन माग गरेका छन्।विद्यार्थी संगठनले सोमबार ७ बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै लकडाउन अवधिको शैक्षिक शुल्क राज्यले व्यहोर्नुपर्ने माग अघि सारेका हुन्। साथै मनपरि शुल्क थोपर्ने निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्।
असार १५ गतेदेखि ५ विद्यार्थी संगठनको संयुक्त संघर्ष समितिले आफ्ना माग पूरा गर्न देशभर प्रदर्शन गर्ने जनाएका छन्। विद्यार्थी संगठनले विश्वविद्यालयमा देखिएका शैक्षिक समस्याका बारेमा असार १५ गते त्रिवि उपकुलपति समक्ष र राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष समक्ष ज्ञापनपत्रसहित संयुक्त डेलिगसन जाने निर्णय गरेको छ।
विद्यार्थी संगठनले सरकार अधिनायकवादी र स्वेच्छाचारी भएको आरोप लगाउँदै संसद् पुर्नस्थापनाको मागसमेत अघि सारेका छन्। असार १६ गते देशका ७७ जिल्ला तथा १७ गते काठमाडौं उपत्यकामा पुत्ला दहनसहित संयुक्त प्रदर्शन गर्ने, संसदको पुनःस्थापनाको माग गर्ने, शिक्षामन्त्रीबाट संविधान र कानुनलाई चुनौती दिने गरी गरिएको हर्कतको तीव्र विरोध गर्नेलगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन्।
यस्तै विद्यार्थी र शिक्षकलाई तत्काल कोभिड विरुद्ध खोपको व्यवस्था गरी शैक्षिक संस्था सञ्चालनको वातावरण तयार गर्न उनीहरूको माग छ।