काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) र टी-२० क्रिकेट विश्वकप एकपछि अर्को गरी यूएईमा आयोजना गर्ने तयारी थालेको छ।
यसबारे आईसीसीले पूर्ण जानकारी नदिए पनि क्रिकइन्फोले अक्टोबर १७ बाट यूएईमा विश्वकपको आयोजना गर्ने तयारी थालेको जानकारी दिएको हो। १६ टिम सम्मिलित प्रतियोगितामा नोभेम्बर १४ मा फाइनल खेल गर्ने गरी आयोजना को तयारी सुरु भएको छ।
यो योजनाअनुसार आईसीसी र इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले काम गरेमा आईपीएल सकिएको दुई दिनपछि विश्वकप सुरु हुनेछ।
कोभिडको महामारीका कारण पछिल्लो सिजनको आईपीएल यूनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको थियो। तर, महामारीबीच नै यो वर्षको प्रतियोगिता आफैं आयोजना गरेको इन्डियाले कोभिडको केसका कारण प्रतियोगिता बीचमै रोक्नु परेको थियो।
त्यसपछि बीसीसीआईले बाँकी रहेको आईपीएलका खेल १९ सेम्टेम्बरदेखि १५ अक्टोबरसम्म यूएईमा गराउने भएको छ।