काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री कृष्णगोपाल श्रेष्ठले अब सरकारले हल्ला मात्र नगरी चतक्कार देखाउने दाबी गरेका छन्। आगामी वर्ष सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने काम गरी चमत्कार गर्ने उनको दाबी छ। मन्त्रालयको पदभार सम्हाल्दै शुक्रबार मन्त्रालयमा उनले यस्तो दाबी गरेका हुन्।
'आगामी वर्ष सबै नेपाली नागरिकले खोप पाइसक्छन्। कोभिड–१९ विरुद्धको खोपका बारेमा हल्ला होइन। काम गरेर देखाउँछौं। खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको छ,' उनले भने, 'कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ। हामी कुराभन्दा काममा विश्वास गर्दछौँ, त्यसैले हल्ला नगरी छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौँ।'
यस्ता छन् निर्णय
मन्त्री श्रेष्ठले पदभार सम्हालेपछि पहिलो निर्णय गर्दै बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोपमा प्राथमिकता दिने निर्णय गराएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे।
कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको उनको दाबी छ। नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखेका थिए।
कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई बचाउन स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एसोसिएसनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन्।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि शय्या थप गर्ने निर्णयमा समेत हस्ताक्षर रेका छन्।
पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताए। उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए। पहिलो र दोस्रो लहरको कोभिड–१९ को नियन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको दाबी गरे।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा रोशन पोखरेललगायतले लक्षित जनसङ्ख्यालाई खोप नै उपलब्ध गराउन सकेमात्र सङ्क्रमण कम गर्न सकिने धारणा राखेका थिए।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोजसम्ममा ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सके कोरोना संक्रमण नियन्त्रणको लागि सहज हुने बताए। उनले एक करोड १० लाख डोज खोप किन्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए।