एजेन्सी- चीनले शुक्रबारदेखि तिब्बतमा पहिलो बुलेट रेल सञ्चालनमा ल्याएको छ।
यो बुलेट रेल तिब्बतको राजधानी ल्हासा र निंगचीको बीचबाट सुरु भएको हो। ४३५.५ किलोमिटरको दूरीमा चल्ने यो रेल सेवाको उद्घाटन भने गत १ जुलाईमै गरिएको थियो। अधिकारीहरुका अनुसार सिचुवान-तिब्बत रेलवेमार्फत् बुलेट रेल सेवा सुरु गरिएको हो । यसको गति १६० किलोमिटर प्रतिघण्टा रहेको सिन्ह्वाले जनाएको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार पहिलोपटक विद्युतीय बुलेट रेल सञ्चालन भएको हो। गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति शी जिनपिङले नयाँ रेल परियोजनाको निर्देशन दिएका थिए। यो सिंगल लाइन विद्युतीय रेल्वेमा हाललाई ल्हासामा ९ वटा स्टेशनबाट सेवा दिइएको छ। सिन्ह्वाका अनुसार हालै खुलेको ल्हासा-निङ्ची रेलवेले इतिहासमै पहिलो पटक दक्षिणपूर्वी तिब्बतलाई रेल सेवासँग जोडेको हो।
यो सेवापछि ल्हासा-निङ्चीसम्मको यात्रा समय अब पाँच घण्टाबाट घटेर साढे ३ घण्टामा आएको छ। साथै शन्नानदेखि निङ्चीको यात्रा समय ६ घण्टाबाट घटेर २ घण्टा भएको छ।
चीनले आफैले विकास गरेको फक्सिङ रेल पहिलो पटक ल्हासामा लगिएको हो। यसका अन्य सिरिजहरु चीनका सबैजसो प्रान्तमा सञ्चालन भइरहेका छन्। यो बुलेट रेल १६० देखि ३५० किलोमिटर प्रतिघण्टा कुद्न सक्छ।
तिब्बतमा बुलेट रेलका लागि सन् २०१५ देखि रेलवे निर्माणको काम सुरु भएको थियो। जसमा १ लाख ३० हजारभन्दा बढी कामदारले सामुद्रिक सतहभन्दा ३ हजार मिटरमाथि रेलवे निर्माण गरेका हुन्। यो रेलवेको ९० प्रतिशतभन्दा बढी भाग ३ हजार मिटरभन्दा माथिको उचाइमा छ।