काठमाडौं- शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलव्ध गराउन निर्देशन दिएको छ।
केन्द्रले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहको खातामा बजेट पठाइसकिएको हुनाले अभिभावकसँग थप शुल्क नलिई निशुल्क पाठ्यपुस्तक वितरण गर्न निर्देशन दिएको हो।
केन्द्रले जारी गरेको सूचनामा ‘आषाढ १ गतेबाट शैक्षिक वर्ष २०७८ सुरु भएको र कोभिड १९ को महामारी कायमै रहेको सन्दर्भमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन प्राविधिको पहुँचका हिसाबले सबै वर्गका विद्यार्थीहरुको पहिलो आवश्यकता पाठ्यपुस्तक भएकोले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने’ उल्लेख गरेको छ।
कतिपय स्थानीय तहका विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र तथा स्वीकृत निजी मुद्रक/प्रकाशकबाट छपाई भएका निःशुल्क प्रयोजनका पाठ्यपुस्तकको सट्टामा अभिभावकहरुसँग थप शुल्क लिई निजी प्रकाशनबाट प्रकाशित पाठ्यसामग्री प्रयोग गर्न लगाइएको भन्ने गुनासो आएको केन्द्रले सुचनामार्फत् जनाएको छ।
केन्द्रले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बापत् अनिवार्य रुपमा सम्बन्धित स्थानीय तहबाट रकम निकासा माग गरी पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
यसका साथै सरकारले घोषणा गरेको कार्यक्रमअनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट कक्षा ११ का सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जनाएको छ।