काठमाडौं– नेपाल शिक्षक महासंघका पदाधिकारीले महासंघमा कुनै पनि आर्थिक अपचलन र अनियमितता नभएको स्पष्ट पारेका छन्। महासंघले पदाधिकारीलाई बदनाम गर्ने नियतबाट आधारहीन लाञ्छना लगाउने काम गरिएको भन्दै आर्थिक अनियमितता नभएको स्पष्ट पारेको हो।
केही व्यक्तिहरू गलत मनसायबाट सञ्चालित हुँदा संस्थाको उपस्थिति र औचित्यमाथि नियोजित प्रहार गरी शिक्षक एकता र आन्दोलन विफल तुल्याउने काममा सक्रिय भएको महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूणर्प्रसाद दवाडीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले २०७४ फागुनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अहिलेको समिति नेतृत्वमा आएपछि संस्थाभित्र कुनै आर्थिक अपचलन र अनियमितता नभएको र कोही कसैलाई त्यस्तो लागेको भए साबित गर्न चुनौती दिएको छ।
महासंघले संस्थागत मर्यादा र आस्थामाथि समेत आँच आउने गरी अनियन्त्रित र अराजक क्रियाकलाप गर्ने गराउने त्यस्ता व्यक्तिहरुलाई नियमानुसार कार्यवाही गर्न सम्बन्धित आबद्ध सम्बद्ध संस्थाहरुलाई अनुरोध गरेको छ। केही दिनअघि महासंघले ५७ लाख हिनामिना गरेको भन्दै एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यलय काठमाडौंमा छानविनका लागि निवेदन दिएका थिए। यो विषयमा सामाजिक सञ्जालमा टीकाटिप्पणी भएपछि विज्ञप्तिमार्फत महासंघको धारणा सार्वजनिक गरिएको हो।