एजेन्सी- ‘मोदी’ समाजको मानहानी गरेको मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धी गुजरातको सुरतस्थित एक अदालतमा पेस भएका छन्। एक सार्वजनिक कार्यक्रममा ‘सबै चोरहरुको नाम किन मोदी हुन्छ?’ भन्ने अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मुद्दा परेको थियो।
अदालतमा उपस्थित भएर राहुल गान्धीले ‘मोदी’ थर भएका कुनै पनि व्यक्तिविरुद्ध आफूले अमपानजनक टिप्पणी नगरेको बताएका छन्। मोदी थर भएका व्यक्तिविरुद्ध कथितरुपमा अपमानजनक टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी भाजपाका एक विधायक पूर्णेश मोदीले राहुल गान्धीविरुद्ध अदालतमा अपराधिक मानहानीको मुद्दा दायर गरेका थिए।
समाचार एजेन्सी पीटीआईका अनुसार सुरत अदालतका न्यायालय प्रमुख एएन दवेलाई दिएको बयानमा राहुल गान्धीले सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको कोलारमा भएको एक र्यालीमा मोदी समाजका व्यक्तिविरुद्ध अपमानजनक टिप्पणी गरेको कुरा अस्वीकार गरेका हुन्।
राहुल गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेर बोलिएको कुराले मोदी समाजको अपमान भएको भन्ने आरोपसहितको जिज्ञासा राखिएको थियो।
राहुलले प्रधानमन्त्री मोदी राष्ट्रिय नेता भएकाले उनले गरेको भ्रष्टचार तथा बेरोजगारीसाग जोडिएका मुद्दा आफूले उठाउन पाइने र यो अधिकार रहेको बताएका थिए।
अदालतले राहुल गान्धीलाई सोधेको थियो, ‘तपाइँले सबै चोरहरुको नाम मोदी किन हुन्छ? भनेर प्रश्न उठाउनु भएको हो?’ राहुलले आफूले कहिल्यै पनि यसप्रकारको कुरा नगरेको बताएका थिए। साथै प्रमाण र बयानका आधारमा सोधिएको प्रश्नमा उनले आफूलाई केही थाहा नभएको बताएका थिए।