काठमाडौं- जारी युरो कपमा समूह चरणको खेल सकिएसँगै अन्तिम १६ को समीकरण पुरा भएको छ। अब अन्तिम १६ मा वेल्सले डेनमार्कको सामना गर्नेछ भने इटालीले अष्ट्रियाको सामना गर्नेछ।
त्यस्तै नेदरल्यान्ड्सले चेक गणतन्त्र, बेल्जियमले पोर्चुगल र क्रोएसियाले स्पेनको सामना गर्नेछ। बाँकी खेलमा फ्रान्स र स्विट्जरल्यान्ड, इंग्ल्यान्ड र जर्मनी भिड्नेछन् भने स्विडेनले युक्रेनको सामना गर्नेछ।
विभिन्न समूहमा विजेता र उपविजेता बन्दै १२ टिम युरो कपको प्रि क्वार्टरफाइनलमा पुगेका थिए भने तेस्रो स्थानमा रहेर उत्कृष्ट प्रदर्शन गरेका चार टिम पनि नकआउट चरणमा पुगेका छन्।
जहाँ इटाली, बेल्जियम, नेदरल्यान्ड, इग्ल्यान्ड, स्विडेन र फ्रान्स क्रमशः समूह ए, बी, सी, डी, ई र एफका विजेता बनेका छन्। त्यस्तै, उपविजेता बन्नेमा क्रमशः वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी छन्।
यो वर्ष अष्ट्रिया पहिलो पटक युरो कपको अन्तिम १६ मा पुगेको छ। यता समूहको तेस्रो स्थानमा रहेका टिममध्ये उत्कृष्ट चारमा पर्दै स्विट्जरल्यान्ड, पोर्चुगल, चेक गणतन्त्र र युक्रेन पनि अन्तिम १६ मा पुगेका छन्।
यस्तो छ खेल तालिका
वेल्स र डेनमार्क, २६ जुन राति पौने १० बजे
इटाली र अष्ट्रिया, २६ जुन राति १२:४५ बजे
नेदरल्यान्ड्स र चेक गणतन्त्र, जुन २७ राति पौने १० बजे
बेल्जियम र पोर्चुगल, जुन २७ राति १२:४५ बजे
क्रोएसिया र स्पेन, जुन २८ राति पौने १० बजे
फ्रान्स र स्विट्रजरल्यान्ड, जुन २८ राति १२:४५ बजे
इंग्ल्यान्ड र जर्मनी, जुन २९ राति ९:४५ बजे
स्विडेन र युक्रेन, जुन २९ राति १२:४५ बजे
प्रि-क्वार्टरफाइनलका खेल नेदरल्यान्डको आमस्टारडम, हंगेरीको बुडापेस्ट, स्पेनको सेभिया, डेनमार्को कोपनहेगन, रोमानियाँको बुखारेस्ट, स्कटल्यान्डको ग्लाज्गो र इंग्ल्यान्डको लण्डन गरि सात ठाउँमा हुनेछ। इंग्ल्यान्डको वेम्बलीमा दुई खेल हुनेछ।