काठमाडौं- कोलम्बियासँग खेलको नवौं मिनेटमै एक गोलले पछि परेको ब्राजिललाई रोबर्टो फर्मिनोले ७७औं मिनेटमा गोल गर्दै बराबरिमा पुर्याएका थिए।
खेलको निर्धारित ९० मिनेटसम्मको नतिजा १–१ गोलको बराबरी भए पनि नेयमारको पासमा कासिमेरोले गोल गरेसँगै ब्राजिलले कोपा अमेरिकामा लगातार तेस्रो जित निकालेको छ।
ब्राजिलको रियो दि जेनेरीयोमा भर्खरै सम्पन्न खेलमा आयोजक ब्राजिलले कोलम्बियासँग २–१ गोलको जित निकालेको हो।
कोलम्बियाका लागि लुइस डियाजले गोल गरेका थिए। उनको गोलसँगै पहिलो हाफमा एक गोलको अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफको लामो समयसम्म पनि लिड लिएको थियो।
खेलमा ७० प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलका लाडी सान्तोषले ७७औं मिनेटमा दिएको पासलाई फर्मिनोले गोलमा परिवर्तन गरेसँगै खेल बराबरीमा आयो। यता इन्जुरी समयको पनि दशौं मिनेटमा कासिमेरोले ब्राजिलको जितका लागि गोल गरे।
यो जितसँगै समूह बीमा ब्राजिलको ९ अंक छ। यता चार खेलबाट चार अंक बनाएको कोलम्बिया समूहको दोस्रो स्थानमा। तेस्रो स्थानको पेरुको चार अंक छ भने चौथो र पाँचौ स्थानमा रहेका इक्वेडर र भेनेजुएलाको समान २–२ अंक छ।
आज बिहान सम्पन्न अर्को खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका थिए।
नेयमाले तोडे रेकर्ड
ब्राजिलियन राष्ट्रिय टिमका पूर्व खेलाडी पेलेको सर्वाधिक एसिस्टको रेकर्ड नेयमाले तोडेका छन्। उनले कोलम्बियाविरुद्धको खेलमा कासिमेरोलाई एसिस्ट गर्दै पेलेको रेकर्ड तोडेका हुन्।
उनले अहिलेसम्म ब्राजिलको टिमबाट ४८ एसिस्ट गरिसकेका छन्। जुन पेलेको भन्दा धेरै हो।