काठमाडौं- पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा विश्वका सर्वाधिक गोलकर्ताको रेकर्डसँग बराबरी गरेका छन्।
उनले जारी युरो कपमा पाँच गोल गरेसँगै अन्तर्राष्ट्रिय खेलमा १०९ गोल पुर्याएर रेकर्ड बराबरी गरेका हुन्।
बुधबार रातिको खेलमा उनले पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सविरुद्ध दुई गोल गरेका थिए। त्यअसघि जर्मनीविरुद्ध एक गोल गरेका रोनाल्डोले युरो कपको पहिलो खेलमा हंगेरीको पोस्टमा पनि दुई गोल गरेका थिए।
योसँगै रोनाल्डोले इरानका अली डेइलीको १०९ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरेका हुन्।
यता रोनाल्डो जारी युरो कपको पनी सर्वाधिक गोलकर्ता बनिसकेका छन्। उनीभन्दा पछि रहेका पाँच खेलाडीले समान ३–३ गोल गरेका छन्।
युरो कपमा समान तीन गोल गर्नेमा स्विडेनका इमिल फोसबर्ग, नेदरल्यान्ड्सका जोजियो वाइनाल्दुम, चेक गणतन्त्रका प्याट्रिक स्चिक, पोल्यान्डका रोबर्टो लेवान्डोस्की र बेल्जियमका रोमेलु लुकाकू छन्।
यता उनी सबै संस्करणको युरो कपको पनि सर्वाधिक गोलकर्ता बनिसकेका छन्। पाँच संस्करणको युरो कप खेलेका रोनाल्डोले १४ गोल गरिसकेका छन्।
यदि रोनाल्डोले आउँदो खेलमा पनि गोल गर्न सकेको अवस्थामा उनले यो संस्करणको युरो कपको गोल्डेन बुट जित्न सक्नेछन्। उनको यही गोलसंख्या कामय रहेमा पनि जित्नसक्ने अवस्था भने छ।
अब रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अर्को खेल बेल्जियमसँग खेल्दैछ। यदि उनले सो खेलमा गोल गरेको अवस्थामा उनी अन्तर्राष्ट्रिय खेलमा विश्वका एक्लो सर्वाधिक गोलकर्ता बन्नेछन्।