काठमाडौं- ब्राजिलमा जारी कोपा अमेरिकाको मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टनाले पराग्वे विरुद्ध १-० गोलको जित निकालेको छ। ब्राजिलको स्टेडियो नेसनल डि ब्राजिलियामा भर्खर्रै सम्पन्न खेलमा जितसहित अर्जेन्टिना शीर्षस्थानमा छ।
अर्जेन्टिनाको जितका लागि अलेजियान्द्रो डारियो गोमेजले गोल गरेका थिए। डि मारियाको पासमा उनले खेलको १० मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। यससँग पहिलो हाफमा एक गोलले अघि रहेको अर्जेन्टिनाले सोहि अन्तरमा खेल जित्यो।
खेल अवधिभर ५७ प्रतिशत समय बलमा पकड बनाएको पराग्वेले अर्जेन्टिनाको पोस्टतर्फ १० प्रहार गरे पनि उसका सबै प्रयास बिफल भए। १-० गोलको हारका बाबजुल पराग्वे समूह ए को तेस्रो स्थानमा कामय छ।
मंगलबार विहानकै अर्को खेलमा उरुग्वेसँग बराबरीमा रोकिएको चिली पाँच अंकका साथ दोस्रो स्थानमा छ भने उरुग्वे चौथो स्थानमा छ। त्यस्तै अंकविहिन वोलिभिया समूहको पुछारमा छ।
यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।