काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका १९ खेलाडी र तीन अफिसियलको काभिड–१९ को कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको छ। दिर्घायु अस्पतालको सहयोगमा उनीहरूको परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी क्यानले दिएको हो।
‘सहयोगका लागि दिर्घायु अस्पताललाई धन्यवाद दिन चाहन्छौं,’ क्यानले सूचनामा भनेको छ, ‘कोभिड–१९ बाट खेलाडीको अधिकतमा सूरक्षाका लागि हामीले दिर्घायु अस्पतालसँग सहकार्य गरेका छौं।’ कोभिड–१९ नेगेटिभ आएका खेलाडी असार ८ गतेबाट सुरु हुने बन्द प्रशिक्षणमा सहभागी बन्नेछन्। त्यस्तै, क्यानले बोलाएको सूचीमा परेका खेलाडीमध्येका पृथु बास्कोटा भने बन्द प्रशिक्षणमा सहभागी नबन्ने क्यानले बताएको छ।
‘बास्कोटाले आधिकारिक सूचना दिँदै व्यक्तिगत र अहिलेको अवस्थाका कारणले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने क्यानलाई जानकारी दिएका छन्,’ क्यानले सूचनामा लेखेको छ।
बास्कोटाले पछिल्लो घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बेस्ट ब्याट्स्मेन बनेका थिए।