काठमाडौं- टिकटकमा खुब प्रिय छन् उनी। कहिले मैलो कपडा लगाएर सडकमा जीवन बिताएका बालापनका तस्बिर सेयर गर्दै भिडियो बनाउँछन् त कहिले फोहोरको थुप्रोमा बसेर खाँदै गरेका तस्बिर सेयर गर्दै पुराना दिन सम्झन्छन्।
एकपटक यिनै सडकका तस्बिर राखेर उनले एउटा हिन्दी डायलगमा भिडियो बनाएका छन्, जहाँ भनिएको छ, ‘मलाई मृत्युसँग त्यति डर लाग्दैन, जति आमाबिना यो संसारमा बाच्नुसँग लाग्छ।’
त्यस्तै सडकमा साथीसँग रमाउँदाका तस्बिर राख्दै बनाएको अर्को एउटा भिडियो छ, जसको संवादमा सुनिन्छ, ‘कहाँ होलान् ती बचपनका साथीहरू, जोसँग एकछिन पनि यो मनले छुट्टिन मान्दैनथ्यो। आज उनीहरूसँगै भेट नभएको वर्षौं भयो।’
हिजो लात हानेर पछाडि फाल्नेलाई, आज उनी अलिकति अगाडि बढेर हात दिन चाहन्छन्। एक जना महिला नाचेको भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘जब आमाबुबा बूढाबूढी हुन्छन्, तब उहाँहरूको हर्कत बच्चाहरूको जस्तै हुन्छ। लभ यू आमा।’ तिनै महिला नाचेको अर्को टिकटक बनाएका छन्, जहाँ उनी भन्छन्, ‘आमा भनेको आमा हो। जस्तोसुकै नाच्नु भए पनि हाम्रो आमा, राम्रो आयो। लभ यू आमा।’
@tuhuro_kanxa आमा भनेको आमा हो हाम्रो खुसीको लागि न आए पनि यति राम्रो नाचिदिनु भयो ??##foruyou सबै ले माया गरिदिनुस है??
♬ original sound - Raju kanxa 879
‘आमाबाबा बित्नुभएसी मेरो जिन्दगी मसान (श्मशान) घाटजस्तै भयो। सानैदेखि आमाबाबाको माया कस्तो हुन्छ, थाहा नै पाइनँ,’ टिकटकमा उनी यसैगरी पोखिएका छन्।
@tuhuro_kanxa सानै देखि आमा बाबा को माया कोस्तो हुन्छ थानै पाइन जुन दिन मलाई कोइ मान्छे हरु ले खाते भनेर बोलेको छ तिनी हरु को आगाडी कै गरेर देखाउन छ ??@zimbeyrai
♬ original sound - Raju kanxa 879
टिकटकमा उनले बनाएका भिडियोहरू हेर्दा महसुस हुन्छ, उनले भोगिरहेको आमाबुबाको अभाव। अनि, यही अभावले जन्माएको परिस्थिति।
विश्वप्रकाश शर्माले चलाउने टिभी कार्यक्रम ‘ऐना’को पछिल्लो एपिसोडमा अतिथि बनेर पुगेपछि उनी टिकटकमा झन् झन् हेरिँदैछन्। छोटो समयमा उनको फलोअर्स ३१ हजार कटिसके। करिब १७ लाखले उनको टिकटक भिडियोहरू हेरिसकेका छन्।
सडकका ती बाल तस्बिरहरू देखेर कतिले उनलाई अर्कैको तस्बिर सेयर गरेको भन्दै ‘खाते’ भनेर गाली पनि गरेका छन्। तर, त्यसको जवाफमा पनि उनी शिष्टसँग प्रस्तुत भएका छन्, ‘हो, म खाते नै हुँ। तपाईंलाई धन्यवाद।’
उनी अर्थात् टिकटकका ‘टुहुरो कान्छा’। जसका भिडियो हेरेर धेरैले उनलाई प्रतिक्रियामा लेखेका छन्, ‘मलाई तपाईंको कथा जान्न मन छ।’
त्यो कथा जसले उनलाई ५ वर्षको कलिलो उमेरमै सडकमा पुर्यायो। अनि, त्यो कथा जसले उनलाई सडकबाट उठाएर आज हक्कीको राष्ट्रिय खेलाडीसम्म बनायो।
-000-
उनको खास नाम हो– राजु अधिकारी। आमा परियारकी छोरी। समाजमा जात व्यवस्था, जातीय विभेद कायमै थियो। बुबाको परिवारले आमालाई स्वीकारेको थिएन। त्यसकारण बुबाआमा दुवै घर छाडेर हेटौँडामा डेरा गरी बस्न बाध्य थिए।
घरको आर्थिक स्थिति कमजोर थियो। बुबा सिमेन्ट बोक्ने काम गर्थे, आमा घरमै गृहिणी। विस्तारै परिवारमा द्वन्द्व सुरु भयो। बुबाआमा दुवै रक्सी पिउन थाले। दिनहुँ झगडा हुन थाल्यो। राजु कलिलै थिए त्यतिबेला। उनलाई ठ्याक्कै उमेर त सम्झना छैन, तर अनुमान गर्छन्, ‘त्यस्तै ५–६ वर्षको थिएँ होला!’
बुबाआमाले रक्सी पिएर पिट्ने गरेको धमिलो सम्झना छ उनलाई। घरमा प्रेम, स्नेह र हेरचाहको अभावले उनी सडकका साथीहरूसँग घुलमिल गर्न थाले। साथीहरूकै लहलहमा उनी कलिलै उमेरमा काठमाडौं आइपुगे। अनि, सुरु भयो उनको सडक जीवन।
न्यूरोड, बसन्तपुर, ठमेल आसपासका सडकमा रात कटाउन थाले। भोक टार्न कहिले सडकमा फालिएका प्लास्टिक टिप्थे त कहिले बाटोमा हिँडिरहेका बटुवाहरू, छेउछाउका पसलेहरूसँग मागेर खान्थे।
सहज थिएन सडकको चिसो जीवन। भोकले रन्थनिएकै बेला उनीसँग ४/५ जना केटाहरूको ग्याङ काठमाडौंको मःम पसलमा पुग्थ्यो। ग्राहकले खाइरहेको मःमको प्लेट जब भुईंमा झर्थ्यो, त्यसपछि उनीहरू प्लेट नजिकै झुम्मिएर पुग्थे। अनि, त्यो प्लेटमा रहलपहल अचार चाट्नलाई मरिहत्ते गर्थे।
‘यो समाजमा खाते भएर बाँच्न सजिलो छैन,’ राजु विगत सम्झिँदै भन्छन्, ‘खानका लागि मान्छेहरूको खुट्टा ढोग्नुपर्थ्यो। मलाई ५ रुपैयाँ दिनुस्, १० रुपैयाँ दिनुस् भनेर माग्न जाँदा मान्छेहरू ‘जा खाँते साला, लाज लाग्दैन, मागेर खान्छस्’ भन्दै आमाचकारी गाली गर्दै लखेट्थे। होटलमा खानाखाँदा पोखिएका भातहरू टिनको डब्बामा हालिन्थ्यो। जब त्यही डब्बा फोहोरको थुप्रोमा फाल्न आटिन्थ्यो, हामी झोला थाप्थ्यौँ, अनि खाना खान्थ्यौँ।’
सडकको कष्टकर जीवनले धेरैपल्ट उनी र उनका साथीहरूलाई आत्महत्या गर्नसम्म प्रेरित गर्थ्यो। ‘यस्तो जिन्दगी बिताउनुभन्दा त कालीमाटीको पुलबाट हामफालेर मर्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो,’ राजु सम्झन्छन्, ‘हामीले मागेर जम्मा गरेको पैसा पनि राति सडकमा सुतिरहेका बेला ठूल्ठूला केटाहरूले आएर कट्टी देखाएर, थर्काएर, पिटेर लुटेर लैजान्थे। त्यतिबेला रुँदै बस्थ्यौँ। त्यसपछि पैसा जम्मै लग्दियो, अब भोलि के खाने भन्ने चिन्ताले सताउँथ्यो।’
यसरी काठमाडौंमा सडक जीवन बिताएको केही वर्षपछि हेटौँडाबाट एक जना साथी उनको बुबाको मृत्यु खबर लिएर आइपुगे। साथीले जब उनलाई ‘तेरो बाउ त मर्यो नि’ भनेर खबर सुनाए, उनी रोएनन्, बरु हाँसे। ‘खोइ किन हो, कुनै फिलिङस् नै आएन, सामान्य हिसाबले नै लिएँ,’ राजु सम्झन्छन्।
जतिबेला उनीहरू सडकमा प्लास्टिक टिप्दै हिँड्थे, त्यतिबेला कसैको बुबाले उसको सन्तानलाई हात समाएर स्कुल लगेको दृश्य खुब देख्थे उनी र उनका साथीहरू। खुब डाह लाग्थ्यो उनीहरूलाई।
खबर सुनेको केही महिनापछि उनी हेटौँडा फर्किए। पुरानो डेरामा पुगे। बुबाको मृत्युपछि आमाले पनि अर्कै बिहे गरेको खबर सुने। त्यसपछि फेरि हेटौँडाका सडक र त्यहाँका गल्ली नै उनको रात कटाउने सहारा बन्न पुग्यो।
जतिबेला उनीहरू सडकमा प्लास्टिक टिप्दै हिँड्थे, त्यतिबेला कसैको बुबाले उसको सन्तानलाई हात समाएर स्कुल लगेको दृश्य खुब देख्थे उनी र उनका साथीहरू। खुब डाह लाग्थ्यो उनीहरूलाई।
‘हामी पनि यसैगरी टाइ-बेल्ट लगाएर स्कुल जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ राजु सम्झन्छन्, ‘तर, त्यो सबै कुरा हाम्रा लागि त एउटा मिठो सपना मात्रै हुन सक्थ्यो। हामी त स्कुलको गेटमा पनि बोरा बोकेर पुगिरहेका हुन्थ्यौ, प्लास्टिक खोज्दै। अनि स्कुलको गेट पालेले पनि ‘भाग् खाते’ भनेर कुकुर धपाएजस्तै धपाउँथे हामीलाई।’
दिउँसो खुल्ने पसलहरूमा राति सर्टर लाग्थ्यो। राति जब पानी पर्थ्यो, तिनै सर्टर मुनि ओत लाग्न पुग्थे राजु र उनका साथीहरू। तर, उनीहरू ओत लागेको कसले देखिसहने? त्यतिबेला घरधनीहरूले माथि छतबाट पानी छ्याप्दै खेदेका दृश्यहरू आज पनि राजुको मस्तिष्कमा झल्झली नाच्छ।
सडक बालकहरू आ–आफ्नो 'ग्याङ', पैसा माग्ने, प्लास्टिक उठाउने पनि आ–आफ्नै एरिया हुन्थ्यो। राजु हुँदा तीन वटा ग्याङ थिए, हेटौँडामा। कोब्रा, बिछु र भ्यान्टे ग्याङ। राजु चाँहि कोब्रा ग्याङका 'लिडर' अर्थात् 'डन' थिए। लिडरले चाँहि आफूभन्दा जुनियरलाई बोरा बोकाउन पाउँथ्यो, काम अह्राउने पाउँथ्यो। उनी पनि यसैगरी जुनियर हुँदै लिडरसम्म बनेका थिए।
सडकमा जीवन कटाउँदाकटाउँदै उनी लागुऔषधको दलदलमा फसिसकेका थिए। दूधको प्लास्टिकमा डेनलाइट तान्न थालेका थिए।
एकपटक लागुऔषध किन्नकै लागि उनी साथीसँग हेटौँडाबाट बस चढेर वीरगञ्ज जाँदै थिए। जब उनी जितपुरमा पुगे, सडकमा आफ्नै आमालाई बच्चा च्यापेर हिडिरहेको देखे। बसबाटै 'ममी…!' भनेर चिच्याए। ममीले सुनिनन्। साथीले फर्कदा ओर्लिनु भनेर सुझाए।
फर्किदा ममीलाई जहाँ देखेका थिएँ, त्यही ओर्लिए। वरिपरि खोजिनिति गरेपछि थाहा भयो, ममीको नयाँ घर। ‘दुई–तीन महिना त्यतै ममीसँग बसेँ। कान्छो बाउ हुनुहुन्थ्यो। माया पनि नगर्ने, साह्रै हेला महसुस भयो। त्यसैले यहाँ बस्नुभन्दा सडकमै बस्नु ठिक भनेर फेरि हेटौँडा फर्किएँ,’ राजु सुनाउँछन्।
-000-
राजु जन्मिए आमाको काखबाट। तर, हुर्किरहेका थिए सडकको काखमा। सडककै जीवन उनको नियति भइसकेको थियो।
करिब १० वर्षअघिको कुरा हो। हेटौँडाका अर्पण पराजुली विद्यावारिधि (पिएचडी) गर्नलाई विदेश जाने तयारीमा थिए। एकपटक हेटौँडा बसपार्क पुग्दा उनले सडक बालकहरू एक पिस मःमका लागि मान्छेहरूसँग बिलौना गरिरहेको देखे।
पेट भर्नकै निमित्त उनीहरूले अरुको जुठो खाएको देख्दा उनलाई चसक्क बिज्यो। भोलिपल्ट त्यही ठाउँमा तिनै केटाहरूलाई मःम खुवाउन पुगे उनी। पर्सिपल्ट पनि पुगे। हरेक दिन मःम खानका लागि आउने सडक बालकहरूको संख्या पनि बढिरहेको थियो। तेश्रो दिन जब उनी त्यसैगरी पुगे, करिब २५ जना सडक बालकहरू जम्मा भइसकेका थिए।
सबैलाई उनले फुटपाथमा गोलो बनाएर राखे। अनि, पालैपालो सबैसँग परिचय मागे। एकजना 'ग्याङ लिडर'को मामाघरतर्फको थर पराजुली रहेछ। जब उनले अर्पणको थर पनि पराजुली सुने, ‘मामा पर्नुहुँदो रहेछ’ भनेर सुनाए। त्यसैले सबैले उनलाई ‘मामा’ भनेर सम्बोधन गरे। त्यही सम्बोधनको भीडमा ‘कोब्रा ग्याङ’का लिडर राजु पनि थिए।
अर्पणले हेटौँडामा ‘मामाघर’ नामक संस्था खोले। सडकमा अलपत्र बालकहरू उद्धारमा उत्रिए। अनि, यही ‘मामाघर’ले राजुको पनि उद्धार गर्यो।
जब अर्पणलाई ती सबै सडक बालकले मामा भन्न थाले, उनीहरूसँगको आत्मीयता झन् बढ्यो। त्यसपछि उनी जिल्ला प्रशासन कार्यालयको अनुमतिमा हेटौँडा र काठमाडौंका सडकमा अनुसन्धान गर्न निस्किए, सडक बालककै भेषमा। करिब तीन महिना उनले रिसर्च गरे। ठमेलस्थित सञ्चय कोषको कार्यालय परिसरमा ८ दिन सडक बालककै भेषमा रात कटाए।
यसरी सडक बालकमाथि गरेको अनुसन्धानले अर्पणको जीवनको मिसन नै परिवर्तन भयो। स्थानीय नगरपालिकादेखि संघसंस्थाको पहलमा उनले हेटौँडामै खोले ‘मामाघर’ नामक संस्था। र, सडकमा अलपत्र बालकहरू उद्धारमा उत्रिए। अनि, यही ‘मामाघर’ले राजुको पनि उद्धार गर्यो।
अहिले राजुको टिकटकमा देखिने बाल्यकालका सडकका तस्बिरहरू पनि अर्पणले नै खिचेका हुन्, अनुसन्धान/अध्ययनका क्रममा।
अर्पणले उद्धार गर्नुअघिसम्म राजुको कुनै सपना थिएन। राजु भन्छन्, ‘सडक बालकहरूको त्यस्तो कुनै ठूलो सपना हुँदैन। हामीलाई जजसले पिटेको छ, जजसले खाते भनेर घृणा गरेको छ, भोलिपर्सि ठूलो भएपछि एउटा गन किनेर तिनीहरूलाई हान्ने नै हाम्रो सपना हुन्थ्यो। तर, जब अर्पण मामा हाम्रो जीवनमा आउनुभयो, हाम्रो सपना नै मोडियो।’
-000-
करिब ७ वर्षअघिको कुरा हो राजु ‘मामाघर’को संरक्षणमा थिए। स्कुल पढ्न त गएका थिए, तर आफूभन्दा निकै साना उमेरका बच्चाहरूसँग बसेर पढ्न गाह्रो भयो।
त्यही क्रममा एकपटक नेपाल भ्रमणमा जर्मनीबाट एक जना युवती आएकी थिइन्। जसले ‘मामाघर’मा राजु र उनका साथीहरूका लागि हक्की स्टिक र बल उपहार छाडेर गइन्।
तर, हक्की कसरी खेल्ने? कसैलाई थाहा थिएन। ‘हामीले क्रिकेट खेलेजसरी डङ् कि डङ् हान्न थाल्यौँ,’ राजु सम्झन्छन्, ‘त्यही क्रममा हेटौँडामा रहनुभएका हक्कीका नेसनल कोच मनोज शर्माले हामीलाई देख्नुभएछ। त्यसपछि हाम्रो उत्सुकुता देखेर उहाँले हामीलाई हक्की सिकाउन थाल्नुभयो।’
राजुको मन पनि पढाइभन्दा खेलकुदमै ज्यादा देखिन्थ्यो। सिक्दासिक्दै उनको खेल कौशल फक्रिँदै गयो। कोच शर्माले जिल्लास्तरीय टिम बनाएर उनलाई क्षेत्रीय प्रतियोगितामा लिएर जान थाले। त्यसपछि विस्तारै उनी राष्ट्रियस्तरको हक्की खेल्न थाले। ‘थुप्रै जिल्लामा गएर खेलेपछि देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न पाएँ,’ राजु भन्छन्, ‘कहिले इन्डो-नेपाल त कहिले एसियन गेम। कोचले मेरो खेल मन पराएर कप्तानको जिम्मेवारीसम्म दिनुभयो।’
सडकको चिसोबाट आज राजु हक्कीको राष्ट्रिय खेलाडीसम्म बनेका छन्। तर, यसलाई नै उनले सफलता मानिसकेका छैनन्। हक्की खेलेर जीविकोपार्जन गर्न सकिएला भन्ने उनलाई लाग्दैन।
त्यसैले अहिले उनी ‘मामाघर’कै पहलमा प्लम्बिङ र इलेक्ट्रिसियनको काम सिकिरहेका छन्। सधैँ मामाघरमा भर परेर हुँदैन, त्यसैले उनी आत्मनिर्भर बन्ने यात्रामा छन्। ‘मामा भन्नुहुन्छ, गाउँमै भएपनि तिमीले दुई कोठाको सानो घर बनाउन सकेको दिन म मेरो अभियान सफल भएको ठान्नेछु,’ राजुको लक्ष्य छ, ‘हो, म मामाको त्यो चाहना पूरा गर्न चाहन्छु। अनि, चाहन्छु त्यस्तो केही गर्न सकूँ, जसकारण भोलि कोही बालबालिकाले मैले जस्तै दुःख पाएर सडकमा बस्नु नपरोस्।’
राजुलाई जब ‘मामाघर’ले उद्धार गर्यो, त्यसपछि एकपल्ट उनको ममी उनलाई खोज्दै स्कुलसम्म आइपुगेकी थिइन्। तर, त्यो नै ममीसँग उनको अन्तिम भेट भयो। ‘त्यसको केही समयपछि जितपुरमै बस्ने एकजना दिदीसँग मेरो हेटौँडामा भेट भएको थियो,’ राजु सम्झन्छन्, ‘उहाँले तेरो ममी मरेको आज २२ दिन भयो भनेर सुनाउनुभयो। मलामी जाने मान्छे पनि थिएन रे। अलिअलि नरमाइलो त लाग्यो तर सानैदेखि बाटोमा बस्ने बानी भएको भएर खासै भावुक पनि भइएन।’
राजुलाई लाग्छ, सडक बालकहरूको दुःख उस्तै तहको हुन्छ, ठूलोसानो भन्ने हुँदैन। ‘यो समाजकै सबैभन्दा घटिया दुःख सायद हामी सडक बालकहरूको हुन्छ,’ उनी भन्छन्, ‘सडकमा हुर्कँदाहुर्कँदै हाम्रो त मन पनि ढुंगाकै भइसक्छ। जसले जस्तो गाली गरेपनि मुसुक्क मुस्कुराउनबाहेक अरु केही गर्न सकिँदैन।’
तर, आज उनलाई टिभी र टिकटकमा हेरेर, पत्रिकामा पढेर मान्छेहरूले गर्ने तारिफ सुन्दा बडो खुशी लाग्छ। ‘हिजो हेटौँडाको बसपार्कमा बस्दा खाते भनेर लातले हान्नेहरू र पानी छ्याप्नेहरू, आज नमस्कार गर्नुहुन्छ, छेउमा बोलाउनुहुन्छ अनि ‘तिम्लाई देख्दा गर्व लाग्छ’ भन्नुहुन्छ,’ राजु यो प्रतिक्रियालाई पनि आज आफ्नो जीवनको मिठो अध्याय मानिरहेका छन्।