काठमाडौं- सर्वोच्च अदालतले 'चलखेल सूची' सार्वजनिक गर्नुको कारण पेस गर्न नेपाल धितोपत्र बोर्डका नाममा कारणदेखाउ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले बोर्डका नाममा कारणदेखाउ आदेश जारी गरेको हो।
असार १ गते बोर्डले ५१ कम्पनीको सेयरमा चलखेल भएको भन्दै सूची सार्वजनिक गरेको थियो। ती कम्पनीको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरेको र ति कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण भन्दै बोर्डले सूची सार्वजनिक गरेको थियो।
अधिवक्ता रविन बोहजुले बोर्डले चलखेल सूची सार्वजनिक गरेर बजारलाई जोखिममा पारेको र सो निर्णय सच्याउन भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। बोर्डले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको र बजार प्रभावित गर्ने काम गरेको बोहजुले रिटमा दाबी गरिएको थियो।
अदालतले यो मुद्दामा अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ। 'निवेदकले अन्तरिम आदेश समेत जारी गरी पाउँ भनी गरेको निवेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिन्न कम्पनी समेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरेको कार्यले निवेदकको निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन। कानून बमोजिम गर्नू,’ अदालतको आदेशमा भनिएको छ।