काठमाडौं- काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
असार ३ गते महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति-तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
तर, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए।
आइतबारको छलफलमा उपमेयरसहितका कांग्रेस निकट वडाध्यक्षले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए।
शाक्यले सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधिभन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न सुझाव दिए। ‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछौं। विगतका वर्षमा सबै निर्णयहरु सर्वसहमतिमा भए,’ शाक्यले भने, ‘म तपाइँहरुलाई आग्रह गर्न चाहन्छु। कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौं होला। तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौं। म नेकपा एमालेका तर्फबाट उम्मेदवार थिएँ। त्यो भनेको म एमाले वा मलाई मतदान गर्ने मतदाताको मात्रै मेयर होइन। निर्वाचित भएपछि म काठमाडौँ महानगरपालिकाको मेयर हुँ।’
शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्ययमबाट हल गर्न सकिने भन्दै अनावश्यक रुपमा मिडियाबाजी नगर्न पनि सुझाव दिए।
प्रमुख शाक्यले नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्क बनाउन उनीहरुबाट आएका सकारात्मक सुझावले गहकिलो बनाउने भन्दै नीति तथा कार्यक्रममा राजनीतिक लेप दिन नहुने बताए। ‘असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता छ’ उनले भने। नीति-तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही कारण नभएको र अझ सघन अध्ययन गरी सारकात्मक रुपमा थप बलियो बनाएर जाने शाक्यको भनाइ थियो।
शाक्यले नीति तथा कार्यक्रममा १०० बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएकाले कार्यान्वयनमा प्रतिबद्ध रहने बताए।