काठमाडौं– शनिबार राति जर्मनीसँग ४–२ गोलको हार बेहोरेपछि मुस्कुराउन नसकिरहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भर्खरैसम्म प्रतिद्वन्दीका रुपमा रहेका टोनी क्रुसलाई खेल सकिएपछि साथीका रुपमा पाए। जब इन्ज्युरी समयपछि रेफ्रीले खेल अन्त्य भएको घोषणा गर्दै सिटी फुके, रोनाल्डो र क्रुसले त्यो पललाई गुमाउन चाहेनन्। उनीहरुले थोरै समयमा भए पनि आत्मीयता साटे। सोसल मिडियामा यी दुईका भावभंगीमालाई धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु उदाए।
जारी युरोकपअन्तर्गत शनिबार राति पोर्चुगल र जर्मनीबीच सम्पन्न खेलपछिको त्यो दृष्यले विश्वभरका समर्थकको ध्यान खिचेको थियो। उनीहरुले त्यो भेटमा के भने होलन्? चार वर्षसम्म रियल मड्रिडमा जित निकाल्दा सँगै रमाएका, हार्दा सँगै दुःखी भएका उनीहरुले शनिबार रातिको समयमा कस्तो भावना व्यक्त गरे होलान्? सामाजिक सञ्जालमा धेरै समर्थकको चासो त्यसमा पनि केन्द्रित छ।
कतिपयले त उनीहरुले के गफ गरे होलान् भनेर अनुमानसमेत लगाएका छन्। त्यसको केही समयमा उनीहरुको फोटोलाई आफ्नो सामाजिक सञ्लाजमा सेयर गर्दै स्पेनिस क्लब रियल मड्रिडले लेखेको थियो– पुराना साथीहरु।
हो, रोनाल्डो र क्रुस अहिले पुरानो जमानाका साथी भइसकेका छन्। रोनाल्डो इटाली गएपछि उनीहरुको लक्ष्य परिवर्तन भएको छ। तर शनिबार रातिको त्यो आधा मिनेटको भेटपछि एकै छिनका लागि लाग्यो– रोनाल्डो रियल मड्रिड फर्किए!
उनीहरुलाई नजिक ल्याउने काम पनि रियलले नै गरेको थियो। त्यसैले क्षणिक नै भए पनि युरोकपको त्यो खेलपछिको पल रियल समर्थकका लागि भावनात्मक बन्यो।
रोनाल्डो र क्रुस सात वर्षअघि एकै टिमबाट लगातार चार सिजन खेलेका थिए। उनीहरुको यो विशेष समयको कुरा गरिरहँदा उनीहरुले स्पेनको राजधानीमा बिताएका ती पलको सम्झना गर्नु उचित हुन्छ। जर्मन मिडफिल्डर क्रुस जब बायर्न म्युनिखबाट रियलमा आबद्ध भए, त्यतिबेला नै उनी रोनाल्डोको खेलबाट प्रभावित भएका थिए। उनले रोनाल्डोलाई विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका थिए।
स्पेनिस टिममा अनुबन्ध भएपछि उनले भनेका थिए, ‘अहिलेको समयमा रोनाल्डोभन्दा राम्रो खेलाडी छ्रैनन्। मलाई लाग्छ, उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्।’
सात वर्ष अघिदेखि रियलमा खेल्न थालेका क्रुस र रोनाल्डो लस ब्लांकोसका १० उपाधिमा साक्षी छन्। उनीहरुले २०१४ देखि २०१८ सम्म रियलमा बिताएका स्वर्णीम पल उनीहरुका लागि मात्र स्मरणीय छैन। यो त रियल मड्रिडलाई आफ्नो नजिकको ठान्ने सबैका लागि उत्तिकै महत्वको समय हो। जतिबेला रियलले तीन च्याम्पियन्स लिगसहित विभिन्न उपाधि जितेको थियो, केन्द्रमा थिए रोनाल्डो र क्रुससहित रामोस, बेञ्जिमा, बेल, मार्सेलाेलगायत खेलाडी।
यता लस ब्लांकोसबाट रोनाल्डोले ४५१ गोल गर्दाका दौरान झन्डै २०० गोल ती चार सिजनमा गरेका छन्। जसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्रुस पनि सम्मिलित थिए। रोनाल्डोले फरवार्ड सम्हालिरहँदा क्रुसले मिडफिल्ड सम्हालेका हुन्थे। जहाँ रोनाल्डोको गोलका लागि धेरै पटक क्रुसले एसिस्ट गरे। त्यसैले पनि रोनाल्डोका लागि क्रुस धन्यवादका पात्र हुन्।
भलै रोनाल्डोको गोल संख्याको तुलनामा क्रुसको एसिस्ट संख्या कम होला। तर क्रुसले सिर्जना गरेका गोलका अवसर त रोनाल्डोका लागि नै धेरै थिए। फुटबल वृत्तमा के पनि सुनिन्छ भने जब क्रुस रियलमा आए, तब रोनाल्डोको गोलका लागि उनले मुख्य भूमिका खेले। २०१४–१५ को सिजनमा रोनाल्डोले सर्वाधिक ६१ गोल गर्दा क्रुस भर्खरै आबद्ध भएका थिए।
त्यस्तै, २०१५–१६ मा क्रुसले रोनाल्डोलाई सर्वाधिक धेरै एसिस्ट गरेका थिए। त्यो सिजनमा सेभियाविरुद्धको एक खेलमा क्रुसले एसिस्ट गरेपछि क्लबले लेखेको थियो, ‘टोनी क्रुसले यो सिजनमा १४ एसिस्ट गरेका छन्। उनले यसअघि सबैधन्दा धेरै १२ एसिस्ट (२०१४–१५ मा) गरेका थिए। यो सिजन उनको सर्वाधिक एसिस्ट हो।’
उनले चार सिजनमा ४२ एसिस्ट गर्दा त्यसबाट बेञ्जिमा, पेपे, वाराने पनि फाइदामा थिए। त्योभन्दा धेरै फाइदा रोनाल्डोले नै लिए। जर्मन मिडफिल्डरले २०१६–०१७ सिजनको ला लिगामा ११, च्याम्पियन्स लिगमा एक, क्लब विश्वकपमा एक र कोपा डेल रेमा एक एसिस्ट गरेका थिए।
क्रुसको एसिस्ट र रोनाल्डोको गोलले रियलले लगातार उपलब्धिहरु जितिरह्यो। त्यसको सम्झनास्वरुप रियलले क्रुसको एसिस्ट र रोनाल्डोको गोललाई संकलन गरेर राखेको छ। क्रुससँग चार सिजन रियलमा बिताएका रोनाल्डोले लगातार तीन च्याम्पियन्स लिग जितेपछि इटालियन क्लब युभेन्टसमा जाने निर्णय गरेका थिए। उनको निर्णयलाई क्लबले स्वीकार गर्दै नयाँ यात्राको लागि शुभकामना दिएको थियो।
उनको बिदाइमा सान्टियागो बर्नाबेउका खेलाडी र अफिसियल मात्र होइन, समर्थक पनि दुःखी थिए। सबैका आँखामा रोनाल्डोका लागि सम्मान थियो। उनले नयाँ चुनौती स्वीकार गर्न नयाँ क्लब रोजेका थिए। रोनाल्डोका सबै निर्णयहरुको सम्मान गर्ने क्रुसले आफूबाट रोनाल्डो टाढा जाँदै गर्दा पनि खुसी भएको बताएका थिए। ‘जसले आफ्नो गोलले धेरै खेलहरुको निर्णय गरेको छ, त्यस्तो खेलाडी क्लब छोडेर जाँदा उसको सम्झना आउँदैन भने त्यो अनौठो कुरा हो,’ क्रुसले भनेका थिए, ‘तर उनको ट्रान्सफरबाट खुसी हुन सक्नुपर्छ। किनभने उनी नयाँ अनुभवका लागि त्यता जाँदैछन्। रियलले उनीबाट धेरै पैसा कमाएको छ।’
तर रोनाल्डो गएपछि रियलले उनको ‘लाइक टु लाइक’ प्रतिस्थापन पाएन। त्यसपछि क्रुसका धेरै सम्भावित एसिस्टहरु गोल पोस्ट चुम्नबाट चुकेका छन्। रियलको फरवार्ड लाइन पहिलेजस्तो चुस्त छैन।
सायद क्लबमा यो कुरा क्रुसलाई पनि बिझेको हुनुपर्छ। उनको एसिस्टलाई रोनाल्डोले जस्तो प्रहार गर्नसक्ने खुट्टा त्यसपछि पाएको छैन। यस्ता, सबै तितामिठा समयलाई प्रत्यक्ष अनुभव गरेका समर्थकले रोनाल्डो र क्रुसको पछिल्लो भेटलाई खेलाडीको सद्भावका रुपमा लिए।
उनीहरुको त्यो भेटलाई युरोकपको ट्वीटर ह्यान्डलले ‘सम्मान’ शीर्षक दिएर सार्वजनिक गरेको छ।