मुस्ताङ- मुस्ताङलगायतका क्षेत्रबाट पश्मिना उद्योगको लागि अत्यावयक चङग्राको भुवा संकलन गर्दै काठमाडौंमा प्रशोधन गर्ने गरी काम अघि बढेको छ। यसले मङ्गोलिया र चीनबाट ल्याउनुपर्ने कच्चापदार्थको निर्भरतालाई घटाउनेछ। कोरोनाका कारण दुई वर्षयता बिक्री हुन नसकेको ९० लाख बराबरको दुई हजार किलोग्राम ऊन हालै स्थापित मुस्ताङका संकलन केन्द्रबाट खरिद गरिएको छ ।
पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि च्याङ्ग्राको ऊनले बजार पाउने आसमा मुस्ताङका कृषक खुसी भएका छन्।
खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल पस्मिना उद्योग संघले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन) संकलन केन्द्र स्थापना गरेको जनाएको छ।
संघका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए।
‘स्वदेशी ऊन प्रशोधन गर्न काठमाडौंमा नेपाल फाइबर प्रोसेसिङ उद्योग खोलेका छौं’, उनले भने, ‘पहिलो पटक मुस्ताङमा सङ्कलन केन्द्र खोलेर रु ९० लाख मूल्य बराबरको दुई हजार किलोग्राम ऊन खरिद गरिसकेका छौं।’
लामिछानेको नेतृत्वमा संघका उत्सव खनाल, बिजु शाक्य, भीम शेरचन र विवेकानन्द मिश्रको टोली दामोदरकुण्ड लोघेकर तथा लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र च्याङ्ग्रापालक कृषकहरुसँग अन्तरक्रियाका साथै भुवाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ।
मनाङमा भुवाको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधि पठाएको संघले लगत्तै डोल्पा, मुगु, हुम्लालगायत जिल्लामा पनि क्षेत्र विस्तार गर्ने जनाएको छ।
नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थका रूपमा प्रयोग हुन्छ।
नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १ सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ।
पस्मिना उद्योगी मिश्रले मुस्ताङको भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताए ।
‘परम्परागत र अव्यस्थितरूपमा संकलन गरिएको मुस्ताङको भुवा प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ,’ उनले भने, ‘च्याङ्ग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ।’
बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले ऊन निकाल्ने गरेका छैनन्। शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशत ऊन संकलन गरे पनि बजार नपाउने समस्या थियो। तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन सटही गरेर लैजान्थे।
कोरोनाका कारणले पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौं मूल्यको ऊन बिक्री हुन सकेको थिएन। लोमान्थाङका ट्यासी बिष्टले खेर गइरहेको ऊनले उचित मूल्य र बजार पाएकामा खुसी व्यक्त गर्नुभयो। लोमान्थाङका कृषकहरुको ऊन बजारीकरण गर्न त्यहाँ अर्को सङ्कलन केन्द्र बनाउने तयारी भएको छ। कृषकले केन्द्रमा ल्याउने ऊन सङ्कलन गरेर संघले खरिद गरी काठमाडौं लैजाने सम्झौता भएको छ।
प्रतिकिलो अप्रशोधित ऊन सरदर रु चार हजार ५ सयमा खरिद गर्ने संघले जनाएको छ। वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट ऊन निकाल्ने याम हो। मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ।
पस्मिना उद्योगी खनालले च्याङ्ग्राको संख्याया बढाउन, हिउँदमा आहाराको व्यवस्थापनका लागि घाँस खेती, भण्डारण र महामारीबाट बचाउन खोपको व्यवस्थापन गर्नुपर्ने बताए।
च्याङ्ग्राको ऊन पस्मिनाका लागि उच्च श्रेणीको कच्चापदार्थ हो। भेडा र चौंरीको तुलनामा च्याङ्ग्राको ऊनलाई गुणस्तरीय मानिएको छ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रापालन गर्ने गरेका छन्।