काठमाडौं- पत्रकार सम्मेलनमा खेलाडीले पेयपदार्थ अगाडि राख्नै पर्ने भएको छ।
कोकाकोलालगायत अन्य पेयपदार्थ पत्रकार सम्मेलनका क्रममा अगाडिबाट हटाएमा खेलाडीलाई जरिबाना हुने भएको हो। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पत्रकार सम्मेलनका क्रममा फुटबल खेलाडीले स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाएमा जरिबाना हुने जानकारी गराएको हो।
यूईएफएले टिम र खेलाडीलाई अगाडि राखेको पेय पदार्थको बोतल नहटाउन आग्रह गर्दै हटाएमा जरिबाना गरिने चेतावनी दिएको छ।
यसअघि पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा अगाडि राखिएको कोकाकोलाको बोतल हटाएका थिए। त्यसको असर कोकाकोलाको शेयर बजारमा ठूलो गिरावट आएको थियो। त्यसपछि अन्य खेलाडीले पनि बियरलगायतका अन्य पेय पदार्थका बोतल अगाडिबाट हटाउने गरेका थिए।
फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल र इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोलाको बोतल हटाएका थिए। त्यसपछि यूईएफएले खेलाडी र टिमलाई स्पोन्सरले राखेका पेय पदार्थका बोतल नहटाउन आग्रह गर्दै हटाएमा जरिबाना गरिने चेतावनी दिएको हो।