आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ : खाली हुँदैछन् कोभिड अस्पतालका बेड

गत चैत २० देखि कोरोनाको दोस्रो लहरको प्रभावमा परेको प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक घट्दै गएको छ।
 |  शुक्रबार, असार ४, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, असार ४, २०७८

विराटनगर- गत चैत २० देखि कोरोनाको दोस्रो लहरको प्रभावमा परेको प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक घट्दै गएको छ। संक्रमितको संख्या घटेसँगै कोरोना संक्रमितको उपचार गर्दै आएका अस्पतालहरूका बेड पनि खाली हुँदै गएका छन्।

triton college

एक महिना अघिसम्म संक्रमितको चाप बढे पनि पछिल्लो सातादेखि संक्रमितको संख्या घट्दै गएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए। 

उनका अनुसार सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। बिहीबार प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १३ हजार ७८३ छ। 

संक्रमण भएकामध्ये होमआइसोलेसनमा १३ हजार ३५० जना छन्। प्रदेशका कोभिड उपचार हुने अस्पतालमा अहिले ४३३ जना उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मुख्यगरी ९ वटा अस्पतालहरूमा कोरोना संक्रमितको उपचार गरिँदै आइएको छ। मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरका न्युरो, नोवेल, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, कोशी अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको बीएण्डसी अस्पताल र धनकुटाको धनकुटा अस्पतालमा संक्रमितको उपचार हुने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै अस्पतालमा अहिले बेड खाली हुँदै गएका छन्।

Metro Mart
vianet

प्रदेश १ मा अस्पताल र आइसोलेसन सेन्टरहरूसहित २७ स्थानमा संक्रमितलाई राख्ने गरिएको छ। मन्त्रालयका अनुसार २७ स्थानमा एक हजार ५५९ बेड छन्। एक हजार ५५९ मध्ये भेन्टिलेटर १५६, आईसीयू ३०७, एचडीयू ५६०, आइसोलेसन बेड २७९ र नर्मल बेड ४०४ वटा रहेको डा. निरौलाले जानकारी दिए।

अस्पतालमा संक्रमितहरू आउने दर घट्दै गएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। उनका अनुसार अहिले संक्रमितहरूले सहजै बेड पाउने गरेका छन्।

केही दिन अघिसम्म पीसीआर गरेका ६० प्रतिशत सम्मलाई कोरोना देखिने गरे पनि अहिले त्यसको अनुपात घटेको उनको भनाइ छ। डा. दासले भने, ‘अहिले पीसीआर गरेको कुल संख्याको १५ प्रतिशत हाराहारीमा संक्रमण देखिने गरेको छ।’ 

अस्पतालमा कोरोनाको जटिल समस्या परेर आउने बिरामीका लागि छुट्याइएका बेडहरू पनि खाली हुँदै गएको उनले बताए। 

प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अहिले ४७ बेड मात्र प्रयोगमा छन्। ९६ बेड रहेको सो अस्पतालमा ४९ बेडहरू खाली छन्।

मोरङ बूढीगंगाको विराट मेडिकल कलेजमा आउने कोरोना संक्रमितका बिरामीको संख्या आधाले घटेको अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवले बताए। उनका अनुसार बिरामी राख्नका लागि आउने फोनको चाप घट्दै गएको देवले बताए। 

रेफरल अस्पतालका रुपमा रहेको विराटमा अहिले भर्नामा कुनै चाप नभएको उनले बताए। उनले भने, ‘कोभिडका बेडहरू अहिले खाली हुँदै गएका जाँदैछन्।’

प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अहिले ४७ बेड मात्र प्रयोगमा छन्। ९६ बेड रहेको सो अस्पतालमा ४९ बेडहरू खाली रहेको अस्पतालका फोकल पर्सन बैजनाथ साहले बताए। उनले भने, ‘पहिले ४० जनासम्म वेटिङमा हुन्थे, अहिले त्यो संख्या शून्य भएको छ।’ क्रमशः बेडहरू खाली हुँदै गएको साहले बताए।

प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमण देखिएको विराटनगरमा पनि संक्रमितको संख्या घट्दै गएको छ। महानगर क्षेत्रमा अहिले तीन हजार ७९ जना सक्रिय संक्रमित रहेको महानगरपालिकाका कोभिड संयोजक हैदर अलिले बताए। 

दोस्रो लहर सुरु भएदेखि बिहीबारसम्म विराटनगरमा ९ हजार ८२० जना संक्रमित भएका र १३२ जनाको मृत्यु भएको अलिले बताए। अलिका अनुसार महानगरले दुई स्थानमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा अहिले सात जना मात्र भर्ना छन्। ७६ बेडमध्ये अहिले ६९ बेड खाली रहेको कोभिड संयोजक अलिले बताए।

कोरोना संक्रमितको संख्या अहिले घटे पनि ढुक्क हुने अवस्था नरहेको सामाजिक विकास मन्त्री उषाकला राईको भनाइ छ। विज्ञहरूले तेस्रो लहरको चेतावनी दिइरहेकाले यसको तयारी पनि आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: Jun 18, 2021| 01:21 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्