काठमाडौं- रियल मड्रिडमा १६ वर्ष बिताएका कप्तान सर्जियो रामोसका सामु अहिले एउटा प्रश्न छ– अब कता जाने? त्यसो त उनी रियलका कप्तान हुन्। रियलमात्र होइन, स्पेनिस राष्ट्रिय फुटबल टिमका पनि कप्तान हुन् रामोस। तर लामो समयपछि राष्ट्रिय टिममा छनोट हुन नसकेका रामोससँग अहिले क्लबले पनि सम्झौता गर्न अस्वीकार गरेको छ।
रियलले उनको तलब १० प्रतिशत घटाएर एक वर्षका लागि सम्झौता गर्न चाहेको थियो। तर, तलब नघटाई रामोसले दुई वर्षभन्दा वा सोभन्दा धेरै समयको सम्झौता गर्न चाहेका थिए। क्लब र आफ्नो तालमेल नमिलेपछि उनी बिहीबार पत्रकार सम्मेलन गरेर डेढ दशकभन्दा लामो रियलसँगको यात्रामा पूर्णविराम लगाउने तयारीमा छन्। स्टेडियो सान्टियागो बर्नाबेउ छोड्ने निर्णय गरेपछि नै हो, उनलाई अब कता भन्ने प्रश्नले घेरेको।
पछिल्लो सिजनमा चोटले सताएपछि रामोसले २१ खेल खेलेका थिए। सन् २०२१ मा त उनी थोरै खेलमा मात्र मैदानमा देखिएका छन्।
कप्तानजस्तै कप्तान रामोस
उनले रियल मड्रिड छोडे पनि रियलको स्वर्णीम इतिहासमा उनी क्लबको वरिपरि नै रहनेछन्। उनले रियलबाट जति जिते, त्यो चानचुने छैन। उनले रियल मड्रिडमा १६ सिजन बिताउँदा ६७१ खेल खेले। यसक्रममा उनले १०१ गोल गरेका छन् भने २२ उपाधि जितेका छन्। उनीभन्दा धेरै कप जित्ने खेलाडी त पाको जेन्टो (२३) हुन्, जुन उनले १९५० पछिका एक दशकमा जितेका थिए।
त्यस्तै उनले जितेका मोडर्न फुटबलका चार च्याम्पियन्स लिग उपाधि त अन्य उपाधिसँग तुलना गर्नै मिल्दैन। त्यसरी उपाधि जित्न जो कोही खेलाडीले सक्दैन। जब १९९२ बाट युरोपियन कप च्याम्पियन्स लिगमा परिवर्तन भएपछि मोडर्न फुटबलको सुरुआत भएको मानिन्छ। त्यसपछि लगातार तीन उपाधि जित्ने एक्बल रियल मड्रिड र एकमात्र कप्तान रामोस हुन्। र, उनको नेतृत्वमा रियलले २०१४ मा च्याम्पियन्स लिग जितेको थियो। एट्लेटिको विरुद्धको त्यो फाइनलको ९३ औं मिनेटमा हेडर गोल गर्दै रामोसले च्याम्पियन्स लिग जिताएका थिए। जसका लागि रियलले वर्षौं कुर्नुपरेको थियो।
सहरी प्रतिद्वन्दीको हातबाट पहिलो ट्रफी खोसेको रामोसले रियललाई शक्ति प्रदान गरेका थिए। त्यसपछि नै उसले १० औं पटक युरोपियन उपाधि जित्यो, जसलाई ‘ला मासिया’ भनेर चिनिन्छ। यसको अर्थ दश भन्ने लाग्छ अर्थात् दशौं युरोपियन कप उपाधि।
त्यतिमात्र होइन, निकटतम प्रतिद्वन्दी बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन, समर्थकलाई हजारौं सम्बोधन, शरीरको परवाह नगरी खेलमा जमेका रामोसबारे धेरै लेखिएको र सुनिएको छ।
‘रामोसलाई म व्यक्तिहरुको अगुवाका रुपमा मान्छु,’ पूर्व एवम् अहिलेका प्रशिक्षक कार्लो एन्सोलोटीले आफ्नो पुस्तक ‘क्वाइल लिडरसिपमा’ लेखेका छन्, ‘बलियो चरित्र भएका त्यस्ता अगुवा जो कहिल्यै डराउँदैन, कहिल्यै चिन्ता गर्दैन र सधै सकारात्मक सोच्छ।’
यति हुँदाहुँदै उनको अराजक रक्षाशैली, प्रतिव्द्वन्दीविरुद्धको कडा स्वभावले उनलाई छुट्टै परिचय दिन्छ। र, त्यही परिचयसँग जोडिन्छ उनको २६ रेड कार्ड।
उनको कथा क्लिन सिटका हिसाबमा मात्र व्याख्या गरिनु हुँदैन। अनगिन्ती भावनात्मक तवरमा पनि व्याख्या गरिनु पर्दछ। त्यही च्याम्पियन्स लिग (२०१४)को सेमिफाइनल दोस्रो लेगमा बायर्नविरुद्ध चार मिनेटभित्रका दुई गोल पनि उनको खेल जीवनमा छुट्टै तरिकाले व्याख्या गरिनु पर्छ। जसले मड्रिड १२ वर्षपछि फाइनल पुगेको थियो। तर अहिले रियलका धेरै समर्थक यस्ता पनि भइसके जसले रामोस बाहेकको रियल मड्रिड देखेकै छैनन्।
रामोसको खेल जीवन
त्यसो त रियलमा जिम्मेवारी सम्हाल्दा उनी लेफ्ट ब्याक थिए। २००५ को सेप्टेम्बरमा रेल्टाभिगोविरुद्ध लेफ्ट विंगरब्याक वान्डरले लक्जेम्बुर्गोको स्थानमा डेब्यू गर्दा उनीमाथि रियलको धेरै आशा थियो। सेभियाबाट अनुबन्धन भएको मूल्य २७ मिलियनभन्दा पनि धेरै रकममा।
पछि, २०१० मा उनी बायाँबाट रक्षापंक्तिको बीचमा सरे। त्यसपछि उनलाई त्यहाँबाट प्रतिस्थापन गर्ने खेलाडी सायदै कोही थियो। पेपेको घुँडाको समस्याका कारण सेन्टरमा पुगेका उनको यात्रा अझै तिव्र गतिमा अघि बढ्यो।
त्यसको आधा दशकपछि त उनको नामअघि ‘लिजेन्ड’ शब्द नै प्रयोग गर्न थालियो। जब उनले च्याम्पियन्स लिग जिते। जब उनी पेरेजसँग खेलमा जान्थे, त्यतिबेला रियलले जहिल्यै जित्थ्यो। त्यो पेरेजको प्रभाव थियो, कि रामोसको त्यो अझै रहस्यको गर्भमा छ।
२२ उपाधिका लागि सहकार्य गरेका १२ प्रशिक्षक मध्ये राफेल वाराने र जिनेदिन जिदानसँगै खेलेका खेलाडी हुन्, रामोस। जिनेदिन जिदानको प्रशिक्षण कालमा त उनको कप्तानीले युरोपमा धमाका नै मचायो। रियलले विश्वको प्रतिष्ठित क्लब विश्वकप लगातार तीन पटक जित्यो र सँगसँगै च्याम्पियन्स लिग पनि लगातार तीन पटक।
त्यसपछि त प्रशिक्षक जिदानेले भनेका थिए, ‘उनी हाम्रा कप्तान हुन्। हामी उनलाई सधैका लागि कप्तान सम्झनेछौं।’ किनभने उनी जति जिम्मेवारी पूर्वक रक्षापंक्तिमा सक्रिय रहन्थे, कप्तानको जिम्मेवारी पनि त्यसरी नै पालना गर्दथे। यता रियलका सर्वाधिक गोलकर्ता डिफेन्डर पनि रामोस नै बने।
जिदानसँगै बाहिरिएका लिजेन्ड
लगातार तेस्रो पटक च्याम्पियन्स लिग जितेपछि जिदानले रियल समर्थकलाई क्लब छोड्ने समाचारले करेन्ट लगाएका थिए। त्यससँगै फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि इटाली जाने भएपछि रियलमा आजपर्यन्त उनको अभाव खड्किएको छ।
पहिलो पटक जिदानले क्लब छोड्दा रियल विश्वको सबैभन्दा बलियो क्लब थियो। त्यसपछि बलियो डिफेन्स भएको क्लबका रुपमा आजसम्म चिनिएको छ। रोनाल्डो गएपछि बिग्रिएको गोलकर्ताको लाइन नसोझिँदै डिफेन्सका नायक रामोस बाहिरएका छन् त्यो पनि प्रशिक्षक जिदानेसँगै।
२०१८ मा पहिलोटक बाहिरिएका जिदानले १० महिनापछि फेरि क्लब सम्हाल्ने जिम्मेवारी पाए। त्यतिबेला उनी उपाधि जित्दाजित्दै बाहिरिएका थिए। तर, उनको दोस्रो इनिङमा उनले क्लबलाई एक ला लिगा उपाधि जिताए। र, यो सिजन उपाधिविहीन बनेर रियलबाट उनको बहिर्गमन भएको छ।
उनले प्रशिक्षकका रुपमा पहिलो पटक क्लब छोड्दा स्टार फरवार्डको विदाइ रियलले गर्नुपरेको थियो अहिले कप्तान र स्टार डिफेन्डरलाई। रामोसको विदाइपछि सन् १९०४ पछि पहिलो विदेशी कप्तान (मार्सेलो ब्राजिल) पाएका छन्। मार्सेलोको नेतृत्वमा रियल कस्तो होला? प्रश्न सबैको मनमा छ।
विदाइ र अबको यात्रा
रामोसले अब कुन क्लबबाट खेल्लान्? यकिन भएको छैन। ट्रान्सफर विन्डोका अनुभवी इटालियन पत्रकार फाब्रिजियो रोमानोले रामोस पूर्व क्लब सेभिया फर्कने सम्भावना नरहेको बताएका छन्। रियल मड्रिड छोड्ने भएपछि रामोस सेभिया फर्किन सक्ने हल्ला समाजिक सञ्जालमा चलिरहेको छ।
त्यसबारे रोमानोले सामाजिक सञ्लाज ट्वीटरमा लेखेका छन्, ‘यो कुनै विकल्प नै होइन, सेभिया रामोसलाई फर्काउने पक्षमा छैन। उनी अन्य क्लबसँग कुराकानीमा छन्। सेभियासँग छैनन्।’
यसकारण अब उनी कता जान सक्छन् भन्ने कुरामा गोल डटकमका स्कटिस फुटबल राइटर पिटर म्याकभिटीले म्यानाचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन जानसक्ने उल्लेख गरेका छन्।
उनको बहिर्गमनपछि रियलका लागि उनको प्रतिस्थापनका लागि विकल्प खोज्न नै निकै मुस्किल पर्ने अवस्था छ। रामोस जता गए पनि रियल र उसका फ्यानका मनमा सधै प्रिय भइरहनेछन्। र, भनिरहनेछन्–वी मिस यु लिजेन्ड!
- गोलडटकमबाट भावानुवाद