धोवी खोलाको किनार मर्निङवाक हिँडिरहेको थिएँ। सुनसान करिडोरका केही पसल खुलेको देखें। निषेध आदेश खुकुलो भएछ भन्ने सोचेर चिया पसलतिर पाइला बढाउन पुगें। चिया अर्डर गरेर मोबाइल खोलेको मात्र थिएँ-
त्यता केके हुँदैछ।
यता बाढी पसेर
000
चिया पसलका साहुजीले रेडियो खोल्ने बित्तिकै यो गीत सुनें। उनले रेडियोको गीत सुन्दै चियाको भाँडामा दूध हाले।
‘यही हालत सुनाउँदै हुनुहुन्थ्यो बा।’ साहुजी गीतमा बाका दुःखेसो भेटेर सोचमग्न भएँ।
‘कहाँ हो र घर?’ सोधें। उनले सिन्धुपाल्चोक भने। अहो भर्खरै अनलाइन समाचार पढेको थिएँ सिन्धुपाल्चोकमा बाढीको वितण्डा।
बर्खा लागेसँगै नदी किनारको बास उठिबासै हुन्छ। राम्रै घर भएकाहरुको पनि जनजीवन कष्टकर हुन्छ।.यस्तै भनिरहेका थिए– चुलोमा भने चियाका लागि बसालेको दूध उम्लिएर पोखियो।
कवि श्रोता २०६५ साउनमाको कुनै एक दिन बसमा पोखराबाबाट काठमाडौं फर्किदै थिए। उनले बाटोमा पहिरोको यातना र डुबानमा परेका मानिसको जनजीवन नजिकबाट देख्न पाए। यस किसिमको दृश्यले कवि मन समालिएन। उनले यात्रा भरिनै मनमनै लेखे–चरी लैजा समाचार हामी भयौं बेघरबार।
‘अहो गीतमै हराएछु’, उनले भनें। अहो गायक संगीत श्रोता/अन्जानका स्वरले यी साहुजीलाई गाउँ पुर्याइदियो। जुन गाउँमा बाढी पसिरहन्थ्यो। यही गीतले चित्रण गरेजस्तै छ नेपाली समाज। बाढीको भंगालो र ‘चरी लैजा समाचार’ गीत बर्खामा बढी सुनिन्छ। बर्खेझरी लागेसँगै बाढीले मुख फुकाएर गाउँ पस्छ। यता सामाजिक सञ्जालमा चरी लैजा समाचार भाइरल हुन्छ।
यसरी गीत जन्मियो
कवि श्रोता २०६५ साउनमाको कुनै एक दिन बसमा पोखराबाबाट काठमाडौं फर्किदै थिए। उनले बाटोमा पहिरोको यातना र डुबानमा परेका मानिसको जनजीवन नजिकबाट देख्न पाए। यस किसिमको दृश्यले कवि मन समालिएन। उनले यात्रा भरिनै मनमनै लेखे–चरी लैजा समाचार हामी भयौं बेघरबार।
स्थायी तयार बनाएर उनी गुनगुनाउँथे। बिस्तारै गीत तयार पारे। लेखेर डायरीमा थन्क्याए। तर मनमा बसेको गीत एक्लैदुक्लै बाटो हुँदो हिँड्दा गुनगुनाउन पुग्थे। बिस्तारै हारमोनियका तारसँगै गुनगनाए। गीतको मेलोडी तयार भयो।
चरी लैजा समाचार
हामी भयौ बेघरबार
उनले भने, ‘गीत साथी सर्कलमा सुनाउँथें। सबैले निकाल्न भन्थें तर आफ्नो प्रोफेसन त्यो थिएन।’
हुन त संगीत प्रोफेसनल संगीतकार होइनन्। न त यस क्षेत्रमा लागेर प्रशस्त दामनाम कमाउनुनै छ उनलाई। तर गीतसंगीतमा रहरिला संगीत साथीभाइका माझ गुनगुनाइदिन्थे। र साथीभाइ गज्जबले ताली पिट्थे। गीतले यत्ति दिए पुग्थ्यो उनलाई। खासै ठूलो मास खोजेर हिँड्ने गायक र संगीतकार पनि थिएनन् संगीत। र संगीतलाई न त व्यावसायिक बनाउनु थियो उनले। उनी भन्छन्, ‘गीत गाउने सोचै थिएन। अञ्जानको करकापले हो।’
२०६० सालमा रेडियो नेपालबाट भ्वाइस पास गरेका अञ्जान बाबु शर्मा गीतसंगीतमा दख्खल राख्थे। कुनै समय दोहोरी साँझमा गीत पनि गाएका थिए अञ्जानले।
गाउँठाउँ एकै दुवैको। यो गीत अञ्जानका लागि अझ प्रिय रह्यो। गीत सुन्नेबित्तिकै अञ्जानले रेकर्ड गर्न चाहे। तर पैसाले साथ दिएन। गीत स्टुडियोमा रेकर्ड नभए पनि उनीहरु कार्यक्रममा हिँड्दा यो गीत गाइदिन्थे।
संगीतले भने, ‘यो गीत हामीले ६–७ वर्ष बिना रेकर्ड कार्यक्रममा गायौं।’
गीत सन्देशमूलक र आम जनजीविकासँग मेल खाने थियो भने अञ्जानले संगीतसँग। र, अञ्जान कर गर्न थाले– यस्तो गीत त राज्यलाई सुनाउनुपर्छ। मित्रगणबाट सुझाव आइरह्यो।
तर गीत रेकर्ड गर्न पैसा चाहिन्थ्यो। फेरि गीतसंगीत क्षेत्र महँगो पनि हो। तर केही सन्देश त दिनुपर्छ भन्ने संगीत/अन्जानलाई लाग्यो।
बर्सेनि नेपाली समाजले भोग्नुपर्ने बाढीपहिरोको समस्या न्यून हुन सकेको छैन। यो समस्या सधै बल्झिरहने भएकाले गीत दोहोरिएको अञ्जान बताउँछन्।
आखिरमा खाजाको पैसा जोगाएर त्रिवेणी रेकर्ड स्टुडियोमा २०६९ सालतिर गीत रेकर्ड गरे। गीत आएपछि यो गीत मिडियातिर दिए। तर कसैले लेखिदिएनन्। कसैले सुनिदिएनन्। न त गीत पब्लिसिटीको पछाडि नै लागे। गीत बनाए फेरि गीत हेर्ने जमनामा पुगेको थियो। त्यसको भिडियो बनाउन आवश्यक थियो। तर कहाँ पाउनु पैसा? त्यसैले पनि यस्ता गीत कमैले सुन्थे। हेर्ने त चान्सै भएन। जब बर्खा लाग्यो यो गीत बिस्तारै सुनिन थाल्यो। गीत मात्रै सुन्दैनन भनेर अञ्जानले केही भिडियो फुटेजहरु जोडजाड पारेर युट्बमा हाले। भनेजस्तो भएन।
गायनमा जोडिएका अञ्जान
कहींकतै गीत बजेको सुन्दा अञ्जान साह्रै खुसी हुन्छन्। तर, यो गीत श्रोताले आनन्दका लागि सुनेको भने होइन। आफ्नो दुःखसँग मिल्ने र भावनासँग मिल्ने हुनाले पनि गीत यो समय बढी सुन्छन्। अञ्जान भन्छन्, ‘गीत दोहोरिएर सुनेको खुसी लाग्छ तर बाढीपहिरोको घटना दोहोरिँदा भने दुःख लाग्छ।’
गीतले चर्चा पाएको घटनाको कारण बताउँछन् अञ्जान। जब घटना दोहोरिरहन्छ भने गीतको सन्देश सकारात्मक हुन सक्दैन भन्ने उनको ठम्माइ छ। बर्सेनि नेपाली समाजले भोग्नुपर्ने बाढीपहिरोको समस्या न्यून हुन सकेको छैन। यो समस्या सधै बल्झिरहने भएकाले गीत दोहोरिएको अञ्जान बताउँछन्। उनी भन्छन, ‘गीत कालजयी हुन समय लाग्ला तर घटना कालजयी भएकोले बर्सेनि दोहोरिन्छ। त्यसैले गीत दोहोरिएको हो।
मिडिया पनि समय सान्दर्भिक गीत सुनाउन चाहन्छन्। मानिससँग सरोकार राख्ने गीत सुनाउन चाहन्छ। र सामाजिक सञ्जाल अझ छिटो समयको प्रतिनिधित्व गर्दछ। जसका कारण सबका हातहातमा रहेको मोबाइलमा पुग्छ। त्यसैले भाइरल हुनु स्वाभाविक हो।
अञ्जानले कयौंपटक यो गीत पसल र सार्वजनिक गाडीमा सुनेका छन्। श्रोता गम्भीर भएर सुनेको बताउँछन् उनी।
गीतमा अञ्जान कहाँ छन् भनेर खोज्नेहरु पनि छन्। साँच्चै शब्दसंगीत संगीत श्रोताको छ। स्वरमा मात्रै अञ्जानले साथ दिएका छन् संगीतलाई। तर आजसम्म मैले पनि गाएको छु भन्न परेको छैन उनलाई। भन्न पनि चाहँदैनन्।
अञ्जान संगीतका हरेक शब्दमा मोहित छन्। संगीत आफ्ना शब्द नापेर तौलिएर कोर्ने खुबीका कवि त हुन नै बेजोड गायक संगीतकार पनि हुन। अञ्जानका लागि यस्ता गीतले मान्छेलाई सामाजिक रुपमै प्रशिक्षित गर्ने बताउँछन्। चलनचल्तीका गीतभन्दा फरक बताउँछन् उनी यो गीतलाई। भन्छन्, ‘मायाप्रेमका गीतभन्दा यी गीत निकै संवेदनशील हुन्छन्। यस्ता गीतले मनोरञ्जनभन्दा बढी सन्देश बोकेको हुन्छ। र सत्ता पक्षलाई खबरदारी गर्छ।’
अझ बढी सुनियो भिडियोले
यो गीत बढी हेरिनुमा नेपाली लोककला र संगीत क्षेत्रका धरोहर प्रेमदेव गिरी जोडिन्छन्। विशेष गरी मादलवादनमा लोकगीत संकलन एवम् नाट्यकर्मी गिरी यो गीत सुनेर निकै उत्साहित भएको बताउँछन् अञ्जान। अहिलेको समय हेर्ने समय हो। प्रत्यक्ष होस् कि स्क्रिनमा होस् मानिस हेर्न चाहन्छन्। र पैसा नभएका बेला कसैले भिडियो बनाउँछु भनेर तम्सिनु सानतिनो आँट होइन पनि।
‘प्रेमदेव दाइले यो गीत सुनेर भिडियो बनाउँछु भने। सुरुमा त नपत्याएर बनाउनुस् भन्यौं संगीत र मैले। पछि त बनाइहाले’, अञ्जानले भने।
संगीतका यी शब्द दुःख पाएकाहरुले भोलिका कयौं भोलि गाउनेछन्। समृद्ध नेपालको सपना बाँडेको सरकारले पूर्वी नेपालमा भएको डुबानबाट जनधन बचाउन आवश्यक कदम पनि चालेन।
गिरी सुर्खेत निवासी हुन्। सुर्खेतमा बर्सेनि कर्णाली आसपासका बस्ती डुबान उनले नजिकबाट देखेका थिए। देशभरि दोहोरिने प्राकृतिक प्रकोप बल्झिरहने घाउजस्तै हो। २०७२ साउन २९, ३० र ३१ गते सुर्खेत जिल्लामा ठूलै बाढी आयो।
अनि त उनले यस गीतको भिडियोमा आफैंले मादल बजाउँदै बाढी प्रभावित क्षेत्रमा पुगेको देखियो। त्यहाँको एक स्थानीय टेलिभिजनसँग सहकार्य गरेर प्रेमदेवले भिडियो बनाएर टेलिभिजनमा प्रसारण गरे। गीतको मर्म खुल्नेगरी वास्तविक बाढी प्रभावित क्षेत्रमा खिचिएका फुटेज थियो। जसका कारण गीतलाई अझै जीवन्त बनायो। अञ्जान भन्छन्, ‘गीतको मर्मलाई न्याय गर्ने भिडियो बनाएका थिए। हामी खुसी भयौं।’
हुन त अञ्जानले बनाएको भिडियो र प्रेमदेवको टोलीले बनाएको भिडियो युट्युबमा एकै समयमा आएको थियो। तर बढी प्रेमदेव गिरीले बनाएको गीतको भिडियो हेरियो।
अन्तमा ...
नेपालको भौगोलिक परिवेशअनुसार पनि बर्सेनी बाढी पहिरो झेल्नुपर्ने बाध्यता छ। वर्षभरि मेहनतले जोहो गरेको सरसामान र उत्साहले लिपपोत गरेको घर मात्रै होइन मान्छेलाई समेत बगाएर बेपत्ता पारिदिन्छ।
आधि हुरी आउँछ कहिले पानी र असिना
हिना र मिना पार्दछ कहिले दुःखीकै पसिना
संगीतका यी शब्द दुःख पाएकाहरुले भोलिका कयौं भोलि गाउनेछन्। समृद्ध नेपालको सपना बाँडेको सरकारले पूर्वी नेपालमा भएको डुबानबाट जनधन बचाउन आवश्यक कदम पनि चालेन। न त अझै कुनै ठोस नीति ल्याउन सकेको छ। त्यसैले बर्सेनि आउने यस्ता प्राकृतिक विपत्तिका कारण घरबास गुमाउनुपरेका नेपालीले सधैं गाउन सक्छन संगीतका गीत :
हिजो नि उस्तै आज नि उस्तै भोलि के हुने हो।
न दिन राम्रो न साँझ हाम्रो कतिन्जेल रुने हो।
जीवनका लय समाउन सक्ने गीत जीवन्त नहुने कुरै भएन। तर सरकार जीवनको लय भत्काउने विपत्तिमाथि मौन बसिदिन्छ। हरेक वर्ष बाढीपहिरोले निम्त्याउने परिस्थितिलाई सरकारले कुनै व्यवस्थित कार्यनीति बनाउँदैन। बनाइहाले प्रभावकारी हुँदैन। कार्यान्वयन हुँदैन। सरकारको यस्तो लाचरीपनको विरुद्ध खबरदारी गर्न जनताले यो गीत सम्झिरहनेछन्। गाइरहनेछन् : त्यता केके हुँदै छ, यता बाढी पसेर .....’
त्यता केके हुँदैछ।
यता बाढी पसेर
फेरि हामी दुःखीकै
खायो मुट कलेजा
हामी भयौं बेघरबार२
चरी लैजा समाचार
हामी भयौं बेघरबार
आँधीहुरी आउँछ कहिले पानी र असिना
हिना र मिना पार्दछ कहिले दुःखीकै पसिना
सुखी ज्यानलाई कस्तो छ
यता पहिरो पसेर
हामी भयौं बेघरबार
चरी लैजा समाचार
हिजो नि उस्तै आज नि उस्तै भोलि के हुने हो।
न दिन राम्रो न साँझ हाम्रो कतिन्जेल रुने हो।
त्यता राम्रै निको छ। यता औंसी पसेर
फेरि हामी दुःखीकै खायो मुटु कलेजा
दैवको घर छ भन्थे माथि रैनछ र नी हो
जे सुख दुःख सहनु पर्ने यै एक जुनी हो।
त्यता कोही त होला कि यता सौराइ खसेर
फेरि हामी दुःखीकै खायो मुटु कलेजा।।