काठमाडौं– युरो कपअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इटालीले लगातार दोस्रो जित निकालेको छ।
इटालीको रोमस्थित ओलम्पको रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले स्विट्जरल्यान्डलाई ३–० गोलअन्तरले हराएको हो।
इटालीको जितका लागि म्यानुयल लोकाटेलीले दुई गोल गरे भने सिरो इमोविलेले एक गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा लोकाटेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।
यससँगै पहिलो हाफमा इटाली एक गोलले अघि रह्यो। खेलको ५२औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गरे भने निर्धारित समयमा एक मिनेट बाँकी रहँदा इटालीले अन्तिम गोल गर्यो।
नतिजालाई २–० बाट ३–० मा पुर्याउन इमोविलेले गोल गरेका थिए। यो जितसँगै इटाली समूह चारण पार गर्ने पहिलो क्लब बनेको छ। साथै इटाली समूह 'ए'बाट युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
समूह 'ए'बाट दोस्रो चरण पुग्ने अर्को टिमको भने टुंगो लाग्न बाँकी छ। इटालीले दुई जितबाट ६ अंक बनाएको छ भने दोस्रो स्थानको वेल्सको चार अंक छ। त्यस्तै स्विट्जरल्यान्डको एक र टर्कीको शून्य अंक छ।
बुधबार रातिकै अर्को एक खेलमा टर्कीले वेल्ससँग हार बेहोरेपछि उसले खाता खोल्ने अवसर गुमाएको थियो। समूह ए अन्तर्गत बाकु ओलम्पिक रंगशालामा सम्पन्न खेलमा वेल्सले टर्कीलाई २–० गोलअन्तरले हराउँदै तीन अंक बटुलेको हो।
वेल्सको जितका लागि आरोन रामसी र कनर रोबेट्सले गोल गरेका थिए। रामसीले खेलको ४२औं मिनेटमा र रोबेट्सले दोस्रो हाफको चोटिल समयमा गोल गर्दै वेल्सलाई जित दिलाएका थिए।
यता बल नियन्त्रयमा अघि रहँदै वेल्सको पोस्टतर्फ १८ प्रहार गर पनि टर्कीका कुनै अवसर सार्थक भएनन्। दोस्रो हारसँगै टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ।