काठमाडौं- युरोकप २०२० मा रसियाले पहिलो जित निकालेको छ। सेन्ट पिटर्सबर्गस्थित घरेलु मैदानमा सम्पन्न खेलमा रसियाले फिनल्यान्डलाई १-० गोलले हराउँदै पहिलो जित निकालेको हो।
रसियाको जितका लागि अट्याकिङ मिडफिल्डर अलेक्सी मिलान्चकले गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको चोटिल समयमा डी ज्युबाले दिएको पासलाई सदुपयोग गर्दै मिलान्चोले गोल गरेपछि रसियाले अग्रता बनाएको थियो।
खेलको ४० प्रतिशत समय बलमा नियन्त्रण बनाएको फिनल्यान्डले गोल गर्न नसकेपछि खेलमा घरेलु टिमले जित निकाल्यो। यो जितसँगै तीन अंक जोडेको रसिया समूह बीको दोस्रो स्थानमा छ। यता पहिलो खेलमा डेनमार्कलाई १-० गोलले हराएको फिनल्यान्ड तेस्रो स्थानमा छ।
पहिलो खेलमा रसियाविरुद्ध जित निकालेको बेल्जियम समूह बीको शीर्षस्थानमा छ भने डेनमार्क पुछारमा छ। बेल्जियम र डेनमार्कबीचको खेल भोलि हुनेछ। यता आजका दुई खेलमा समूह एका टर्की र वेल्स साथै इटाली र स्वीट्जरल्यान्ड भिड्ने छन्।