इटहरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग खरिद प्रक्रियाका सबै कागजात माग गरेको छ। आयोगको इटहरी कार्यालयले प्रतिष्ठानलाई पत्र पठाउँदै खरिद प्रक्रियाका थप कागजात माग गरेको हो।
आयोगको इटहरी कार्यालय प्रमुख नारायणप्रसाद रिसालले प्रतिष्ठानको उजुरीबारे अनुसन्धान गर्न खरिदसम्बन्धी सबै कागजपत्र मागिएको जानकारी दिए।
बीपी प्रतिष्ठानमा अनियमित भएको भन्दै उजुरीको पर्ने क्रम नरोकिएपछि अनुसन्धानका लागि टोली खटाइएको आयोगको इटहरी कार्यालयले जानकारी दिएको छ। अनुसन्धान गर्ने टोलीबारे आयोगले कुनै विवरण सार्वजनिक नगरिने बताएको छ।
स्रोतका अनुसार खरिदसम्बन्धी सबै कागजपत्र प्राप्त भएपछि अध्ययन गरी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई प्रतिक्रियाको लागि अर्को पत्र काट्ने तयारीसमेत आयोगले गरेको छ।
आइतबार आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वको टोलीले प्रतिष्ठानका विभिन्न विभागमा छापा मारेको थियो। प्रतिष्ठानका पदाधिकारीहरूसँग सोधपुछ गरी केही कागजात नियन्त्रणमा लिएको थियो। ती कागजातमा अध्ययन भइरहेको बताएको अख्तियारले खरिद प्रक्रियाका सबै कागजात माग गरेको हो।
प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे छानबिन गर्न प्रतिष्ठानकै डाक्टर, प्राध्यापक र विद्यार्थीले दबाद दिँदै आएका छन्।