काठमाडौं- नेपालले अब सिधै एसिया कप अन्तिम चरणको छनोट खेल खेल्न पाउने भएको छ। बुधबार एसियाली फुटबल महासंघले एक सूचना जारी गर्दै तेस्रो चरण खेल्न पाउने देशहरुको नाम सार्वजनिक गर्दा नेपाल पनि त्यो लिस्टमा पर्न सफल भएको हो।
विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत समूह बीमा रहेको नेपाल दुई जित र ६ हारसँगै समूहको चौथो स्थानमा थियो।
छनोटमा सम्मिलित विभिन्न आठ समूहमा रहेर चौथो स्थानमा समेटिएका टिममध्ये पनि उत्कृष्ट चार टिम मात्र सिधै एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने पूर्वनिर्धारित नियम थियो।
जसमा नेपाली टिम शीर्ष चारमा पुग्न नसकेपछि उसले प्ले अफमा जित निकालेर मात्र छनोटमा पुग्न सक्ने थियो।
तर, एएफसीले भर्खरै जारी गरेको सूचनाअनुसार सबै (एदेखि एच) समूहमा चौथो स्थानमा रहेका आठ टिमले अब तेस्रो चरणको छनोट खेल्न पाउने भएका छन्।
यसरी छनोट भएका टिममा नेपालसँगै थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स र श्रीलंका रहेका छन्।
त्यस्तै संयुक्त छनोटमा पाँचौ स्थानमा रहेका तीन टिमले पनि तेस्रो चरणमा स्थान बनाएका छन्। यसरी स्थान बनाउनेमा म्यानमार, यमन र बंगलादेश छन्।
२४ टिम सम्मिलित अन्तिम चरणको छनोटमा बाँकी रहेको स्थानका लागि इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेई र गुअमबीचको प्ले अफबाट विजेता टिम छनोट हुनेछ।
२४ टिम सम्मिलित एएफसी कपमा आयोजक चाइनासहित १३ टिमले खेल्ने पक्का भइसकको छ। बाँकी टिमको टुंगो छनोटबाट लाग्नेछ।